एसियन कप छनोटअन्तर्गत भियतनामविरुद्ध खेल्ने नेपाली टोली घोषणा

Yangle News
Yangle News
२०८२ अशोज १९ गते
एसियन कप छनोटअन्तर्गत भियतनामविरुद्ध खेल्ने नेपाली टोली घोषणा

एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत भियतनामविरुद्धको दुई लेगका लागि नेपाली टोलीको घोषणा भएको छ । आइतबार मुख्य प्रशिक्षक म्याट रसले अन्तिम २३ सदस्यीय टोली तयार पारेका हुन् । टोली मंगलबार भियतनाम प्रस्थान गर्ने तालिका छ ।

मुख्य प्रशिक्षक रसले गत सेप्टेम्बर २३ मा ३३ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए । १२ दिनको प्रारम्भिक छनोटपछि १० खेलाडी बाहिरिएका हुन् । गत सेप्टेम्बर ६ मा नेपालले दक्षिण एसियाली प्रतिद्धन्द्धी बंगलादेशविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेका ६ खेलाडी अहिले समावेश छैनन् ।

बंगलादेशविरुद्ध टोलीमा रहेका अमित लामा, आदित्य शाक्य, रन्दीप पौडेल, समीर तामाङ, सृजनराज गौतम र टिकेन्द्र थापा यसपाली टोलीमा छैनन् । यीमध्ये रक्षक रन्दीप र अट्याकिङ मिडफिल्डर सृजनराज प्रारम्भिक छनोटमै बोलाइएको थिएन ।

टोलीमा गोलकिपर विशाल सुनार, रक्षकहरु विमल पाण्डे, सनिश श्रेष्ठ र सुमित श्रेष्ठ अनि अट्याकिङ मिडफिल्डरद्धय कृतिशरत्न छुन्जु र आयुष घलानले पुनरागमन जनाएका छन् । यी सबै खेलाडी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत लाओसविरुद्धको खेलमा टोलीमा थिए । सनिश बंगलादेशसँगको खेलका दौरान घाइते थिए । सुमित, कृतिश र आयुष भने यु-२३ एसियन कप छनोट प्रतियोगिताका लागि ताजकिस्तानमा थिए ।

समूह ‘एफ’मा रहेको नेपालले अक्टोबर ९ र १४ मा भियतनामसँग पहिलो र दोस्रो लेग खेल्ने तालिका छ । अक्टोबर १४ मा हुने दोस्रो लेग खासमा नेपालमा हुनुपर्ने थियो । तर, भौतिक पूर्वाधारहरुमा देखिएको कमजोरी र खतराका कारण दशरथ रंगशाला एएफसीबाट अयोग्य ठहर भएपछि नेपालले यो अवसर गुमाएको हो ।

पछिल्लो खेलमा नेपालले तुलनात्मक रुपमा कमजोर लाओसविरुद्ध २-१ को दूर्भाग्यजनक हार बेहोरेको थियो । त्यसअघि मलेसियाले नेपाललाई २-० ले हराएको थियो । लगातार दोस्रो हारसँगै नेपाल हाल अंकतालिकाको पुछारमा छ ।

समूहको शीर्ष स्थानमा रहने टोलीले २०२७ मा साउदी अरेबियामा हुने एसियन कपको १९औं संस्करणमा सहभिताको मौका पाउनेछ । भियतनाम विरुद्धको पहिलो लेगमा पराजय बेहोरे नेपालको एसियन कप पुग्ने चुनौती सकिनेछ ।