इलाममा पहिरोले जनधनको ठूलो क्षति

Yangle News
Yangle News
२०८२ अशोज १९ गते
इलाममा पहिरोले जनधनको ठूलो क्षति

इलाममा पहिरोमा परेर मृत्यु हुनेको संख्या २१ पुगेको छ । अबिरल वर्षापश्चात शनिबार राति गएको पहिरोमा परी इलाममा एकै परिवारको ६ जनासहित २१ जनाको मृत्यु भएको हो ।

घटनास्थलमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । पहिरोमा फसेकालाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको छ ।

प्रभावित क्षेत्रमा उद्दार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय स्वयंसेवकहरू खटिएको कोशी प्रदेश प्रहरीका प्रवक्ता एसएसपी दिपक पोखरेलले जानकारी दिए । उनले भने, ‘सडक अवरुद्ध उद्धार टोली पुग्न र राहत सामग्री पठाउन पनि समस्या भइरहेको छ । घटनास्थल अत्यन्तै विकट स्थानमा परे पनि हेलिकप्टरमार्फत उद्धार जारी छ ।’

पीडितहरूमध्ये धेरै जना अझै सम्पर्कविहीन अवस्थामा रहेका छन् । प्रवक्ता पोखरेलले मौसम अझै प्रतिकूल रहेको हुँदा सतर्कता अपनाउनसमेत सबैलाई आग्रह गरे । विशेषगरी इलामको माईजोगमाई नगरपालिका, सूर्योदय नगरपालिका, माङ्सेबुङ लगायतका पालिकामा ठूलो क्षति भएको छ । लगातार वर्षाका कारण मेची राजमार्ग ठाउँ-ठाउँमा अवरुद्ध भएको छ । इलाममा ठूलो जनधनको क्षति भएको बताइएको छ ।