ओस्माने डेम्बेलेले जिते ‘बालोन डिओर’ अवार्ड

Yangle News
Yangle News
२०८२ अशोज ७ गते
ओस्माने डेम्बेलेले जिते ‘बालोन डिओर’ अवार्ड

यस वर्षको बालोन डिओर अवार्ड फ्रान्सका तथा पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड ओस्माने डेम्बेलेले जितेका छन् ।

उनी यो अवार्ड जित्ने छैटौं फ्रेन्च खेलाडी हुन् । यसअघि रेमन्ड कोपा, मिचेल प्लाटिनी, जियान पियरी पपिन, जिनेदिन जिदान र करिम बेन्जेमाले यो अवार्ड हात पारेका थिए ।

पहिलोपटक बालोन डि’ओर हात पारेका डेम्बेलेले पीएसजीबाट सन् २०२४-२५ को च्याम्पियन्स लिग जित्नुका साथै लिगमा पनि ३७ गोल र १५ असिस्ट गरेका थिए ।

यस्तै स्पेन तथा बार्सिलोनाकी फरवार्ड आइटाना बोन्मतीले लगातार तेस्रोपटक महिलातर्फको अवार्ड जितेकी छन् । स्पेन तथा बार्सिलोनाका युवा खेलाडी फरवार्ड लामिन यमालले वर्ष उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन् । महिलातर्फको यो अवार्ड स्पेनकै भिकी लोपेजले जितिन् ।

च्याम्पियन्स लिग विजेता पीएसजी वर्ष उत्कृष्ट पुरुष टोली घोषित हुँदा पीएसजीकै लुइस एनरिके उत्कृष्ट प्रशिक्षक चुनिए । पीएसजीबाटै च्याम्पियन्स लिग जितेका जियानलुजी डोनारुमा (हाल म्यानचेस्टर सिटी) उत्कृष्ट गोलरक्षक घोषित भए ।

यता महिलातर्फको वर्ष उत्कृष्ट टोलीको अवार्ड आर्सनलले प्राप्त गर्दा सरिना विग्म्यान( इङ्लिस राष्ट्रिय टोली) उत्कृष्ट प्रशिक्षक बनिन् ।

त्यस्तै उत्कृष्ट पुरुषतर्फ स्विडेनका भिक्टोर ग्योकेरेस तथा महिलातर्फ पोल्यान्डकी इवा पाजोर उत्कृष्ट स्ट्राइकर घोषित भए ।

Yangle News