भदौ २३ र २४ गतेको हिंसात्मक जेनजी आन्दोलनलगत्तै नेपाल प्रहरीमा व्यापक सरुवा भएको छ । नेपाल प्रहरीका ४८ एसपी र ९० डीएसपीको सरुवा भएको हो ।
पछिल्लो सरुवाअनुसार १० जिल्लामा प्रहरी प्रमुख फेरिएका हुन् । यसअधि विभिन्न जिल्लामा काज गएका दुई एसपीको सोही जिल्लामा दरबन्दी कायम भएको छ ।
सप्तरी र कैलालीमा यसअघि नै काजमा गएका एसपीहरु गौतमकुमार केसी र नरेन्द्र चन्दकै दरबन्दी कायम भएको छ । बाँके जिल्ला प्रहरी प्रमुखमा अंगुर जिसी सरुवा भएका छन् । उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत छन् ।
अत्यन्तै आकर्षक मानिने पर्सामा पाँच महिनामै एसपी गौतम मिश्र त्यहाँबाट सरुवा भएर सुदूरपश्चिम प्रहरी कार्यालय पुगेका छन् । त्यहाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत एसपी सुदीपराज पाठक सरुवा भए । अर्को आकर्षक मानिने मकवानपुरका एसपी विश्वराज खड्का १३ महिना बसेर प्रधान कार्यालय सरुवा भए त्यहाँ सुवासचन्द्र बोहराले कार्यालय प्रमुखको जिम्मेवारी पाएका छन् ।
मोरङमा कवित कट्वाल, सुनसरीमा केशवकुमार थेवे, दाङमा दीपक श्रेष्ठ, पाल्पामा दीपेन्द्र पञ्जियार थारु, कास्कीमा नवीन कार्की, कपिलवस्तुमा सन्तोष आचार्य जिल्ला प्रहरी प्रमुखका रुपमा सरुवा भएका छन् । डोटीमा महेन्द्र नेपाल र भक्तपुरमा सूर्यबहादुर खड्का सरुवा भएर कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दैछन् ।
त्यस्तै, ९० जना डीएसपीको पनि सरुवा गरिएको छ । इलाका प्रहरी कार्यालय इटहरीमा सुवास हमाल, प्रहरी वृत्त बौद्धमा सन्तोष रोका, पर्वतमा विजय यादव, मुगुमा रविराज थपलिया र प्रहरी वृत्त स्वयम्भूमा मोहनमणि अधिकारीलाई सरुवा गरिएको छ ।
डडेलधुरामा वरुण सिंह, भृकुटीमण्डपस्थित नगर प्रहरी कार्यालयमा प्रह्लाद कार्की, प्रहरी वृत्त गौशालामा प्रकाश श्रीमल र दरबारमार्ग वृत्तमा नारायण डाँगीलाई सरुवा गरिएको छ ।
प्युठानमा नरहरि अधिकारीलाई पठाइएको छ भने प्रहरी वृत्त मालिगाउँमा धनबहादुर बोहरालाई पठाइएको छ । प्रहरी वृत्त जगातीमा चञ्चला श्रेष्ठलाई सरुवा गरिएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरमा चक्र बहादुर डम्बरपाललाई सरुवा गरिएको छ भने दार्चुलामा गौरव महतलाई पठाइएको छ ।
संखुवासभाको इन्चार्जमा कुमारप्रसाद मैनाली र पाँचथरमा अनिश कर्णलाई पठाइएको छ ।