नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्दप्रसाद ढकालले यही भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताको आन्दोलनका क्रममा उद्योग, व्यवसाय र निजी सम्पत्तिमा गरिएको तोडफोड र आगजनीप्रति दुःख व्यक्त गरेका छन् । उनले उद्यमी, व्यवसायीलाई निराश नहुन आग्रह गरेका छन् ।
उनले आफ्नो समेत अर्बौं रुपैयाँको लगानी गरिएको आयोजनामा क्षति पुग्दा पीडाबोध भएको बताएका छन् । तर, देशभरका व्यवसायीको मनोबल उच्च राख्नुपर्ने जिम्मेवारी नेतृत्वका हिसाबले आफ्नो भएको उनले शनिबार (भदौ २८) सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।
आगजनी र तोडफोडबाट हजारौं मानिसको रोजगारी संकटमा परेको र अर्बौं मूल्यका संरचना खरानी भएको उनको भनाइ छ । लगानी धरापमा परेको पनि उनले जनाएका छन् ।
दशक लामो द्वन्द्व, भूकम्प, नाकाबन्दी र कोरोना महामारी खेपेर बल्लतल्ल उभिएको निजी क्षेत्र फेरि ठूलो आघातमा परेको उनले उल्लेख गरेका छन् । उनले प्रतिकूलताबीच पनि सम्हालिँदै पुनर्निर्माण र लगानीतर्फ अघि बढ्नुबाहेक विकल्प नभएको बताएका छन् ।
‘आजैदेखि क्षतिग्रस्त उद्योग, व्यवसायको पुनर्निर्माणमा होमिऔं, थप लगानी गरी रोजगारी सिर्जनामा लागौं,’ उनले लेखेका छन्, ‘निजी क्षेत्र नै मुलुकको अर्थतन्त्रको इन्जिन हो, उद्यमशीलता भनेको रोजगारी र राज्यका लागि राजस्वको स्रोत हो ।’
उनले निजी क्षेत्रले ८१ प्रतिशतभन्दा बढी योगदान र ८६ प्रतिशतभन्दा बढी रोजगारी सिर्जना गर्दै आएको तथ्य प्रस्तुत गरेका छन् । यसबिना मुलुकको समृद्धि सम्भव नभएकामा उनले जोड दिएका छन् । ‘इँटा र काठ जले पनि हाम्रो आत्मबल कहिल्यै जल्दैन । गुमेको सम्पत्ति हामी हाम्रो धैर्य, संघर्ष र मेहनतले फेरि जुटाउन सक्छौं,’ उनले लेखेका छन् ।
अध्यक्ष ढकालले सबै उद्यमीलाई एकताबद्ध भएर अघि बढ्न, भोलिको सुनौलो बिहानीप्रति विश्वास गर्न र आउँदो पुस्तालाई रोजगारी खोज्दै विदेश जानु नपर्ने वातावरण बनाउन पनि आग्रह गरेका छन् ।