संघीय संसदको अपील- विधिको शासन र संविधानवादबाट बाहिर जानुहुँदैन

Yangle News
Yangle News
२०८२ भदौ २७ गते
संघीय संसदको अपील- विधिको शासन र संविधानवादबाट बाहिर जानुहुँदैन

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले विधिको शासन र संविधानवादबाट बाहिर जान नहुने बताएका छन् ।

शुक्रबार सभामुख घिमिरे र अध्यक्ष दाहालले संयुक्त विज्ञप्ति जारी गर्दै देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपतिले पहल गरिरहेको भन्दै विधिको शासन र संविधानवादबाट बाहिर जान नहुने बताएका हुन् । उनीहरूले आन्दोलनरत पक्षका माग सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन अपिल गरे ।

ʻयही मिति २०८२ भदौ २३ र २४ गते भएको जेन-जेडहरूको आन्दोलनका क्रममा भएको जनधनको क्षतिले हामीलाई स्तब्ध बनाएको छ । आन्दोलनको क्रममा आफ्नो ज्यान गुमाउनु हुने सबै युवाहरू तथा कर्तव्य निर्वाहको क्रममा ज्यान गुमाउनु हुने राष्ट्रसेवक प्रहरीहरूमा हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं’, विज्ञप्तिमा भनिएको छ, ‘साथै आन्दोलनका क्रममा घाइते हुनुभएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन राज्यका सम्बन्धित संयन्त्रहरूलाई विशेष आग्रह गर्दछौं ।ʼ

२४ गते बानेश्वरस्थित संघीय संसद् भवन, सिंहदरबारस्थित संघीय संसद् सचिवालय लगायत विभिन्न सरकारी कार्यालयहरू, सरकारी तथा निजी आवासहरू, सञ्चार गृहहरू, व्यापारिक प्रतिष्ठान एवम् सार्वजनिक सम्पत्ति तथा ऐतिहासिक दस्ताबेजहरू नष्ट हुने गरी भएको आगजनी र तोडफोडले मर्माहत बनाएको विज्ञप्तिमा उल्लेख छ ।

संघीय संसद् भवन तथा सचिवालय र देशभरि भएको आगजनीले देशलाई अपूरणीय क्षति भएको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति :

Yangle News