वार्तामा आउन ‘जेनजी’लाई राष्ट्रपतिको अपिल

Yangle News
Yangle News
२०८२ भदौ २४ गते
वार्तामा आउन ‘जेनजी’लाई राष्ट्रपतिको अपिल

राष्ट्रपति रामचन्द्र पौडेलले जेनजीलाई वार्तामा आउन अपिल गरेका छन् । आज साँझ वक्तव्य जारी गर्दै संयमित हुन र मुलुकलाई अरु क्षति हुन नदिन आग्रह गरेका हुन् । ‘लोकतन्त्रमा नागरिकले उठाएका माग जेनजीका प्रतिनिधिसमेत बसी वार्ता र संवादमार्फत् समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई अरु थप क्षति हुन नदिन र वार्तामा आउन म सबैलाई अपिल गर्दछु,’ राष्ट्रपतिले भनेका छन् ।

विज्ञप्ति :

Yangle News

त्यस्तै, नेपाली सेनाले नेपालमा हाल भइरहेको ‘जेनजी’ आन्दोलनका विकसित घटनाक्रमहरूबारे विश्लेषण गरिरहेको जनाएको छ । मंगलबार (भदौ २४) विज्ञप्ति जारी गर्दै सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता, राष्ट्रिय एकताको रक्षा र नेपाली जनताको जिउधनको सुरक्षार्थ विषम परिस्थितिमा पनि नेपाली सेना प्रतिबद्ध रहीआएको जनाएको छ । ‘यस आन्दोलनको क्रममा हुन पुगेको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्नुका साथै शोक सन्तप्त परिवारजन प्रति नेपाली सेना हार्दिक समवेदना र सहानुभूति व्यक्त गर्दछ । साथै, घाइते बिरामीहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछ,’ सेनाको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाल र नेपाली जनताको हित तथा सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको जनाएको छ । ‘यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो । तसर्थ, विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीमा हार्दिक अनुरोध गर्दछ,’ सेनाले भनेको छ ।

विज्ञप्ति :

Yangle News