थला परेको नेपालको पर्यटन पुन: उत्थानतर्फ

Yangle News
Yangle News
२०८२ भदौ १६ गते
थला परेको नेपालको पर्यटन पुन: उत्थानतर्फ

सन् २०२५ को अगस्टमा ८८ हजार ६८० पर्यटक आगमन भएको छ । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्टमा २२ प्रतिशत पर्यटक वृद्धि भएको देखिएको हो ।

बोर्डको तथ्यांकअनुसार भारतबाट ३५ हजार ५०५ अर्थात ४० प्रतिशत पर्यटक भित्रिएका छन् भने चीनबाट ७ हजार ५३३ अर्थात ८.५, अमेरिकाबँट ६ हजार ६८ अर्थात ६.८ प्रतिशत, श्रीलंकाबाट ५ लाख ९५६ अर्थात ६.७ प्रतिशत र बंगलादेशबाट ४ हजार २६२ अर्थात् ४.८ प्रतिशत पर्यटक भित्रिएका छन् ।

सन् २०२५ को जनवरीदेखि अगस्टसम्म ८ महिनाको अवधिमा सात लाख ३६ हजार ५६२ पर्यटक भित्रिएका छन् । बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार क्षेत्रगत रुपमा हेर्दा दक्षिण एसियाली (सार्क) मुलकबाट ४७ हजार १३७ पर्यटक अर्थात ५३ प्रतिशत आगमन भएको देखिन्छ भने एसियाका अन्य मुलुकमा १५ हजार ७७७ अर्थात् १७.८ प्रतिशत, युरोपबाट ११ हजार १३२ अर्थात १२.६ प्रतिशत र ओसनियाबाट २ हजार ४३५ अर्थात २.७ प्रतिशत पर्यटक भित्रिएका छन् ।

त्यसैगरी अमेरिकाबाट ७ हजार २९३ अर्थात ८.२ प्रतिशत, मध्यपूर्वबाट ९४४ अर्थात १.१ प्रतिशत, अफ्रिकाबाट ३२२ अर्थात् ०.४ प्रतिशत र अन्य मुलुकबाट ३ हजार ६४० अर्थात् ४.१ प्रतिशत पर्यटक आगमन भएको छ । सन् २०२५ को जुलाईमा ७० हजार १९३ पर्यटक भित्रिएका थिए ।

कोरोना महामारीले थला परेको नेपालको पर्यटन क्रमश: पुन: उत्थानको क्रममा रहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले बताएका छन् । उनले भने, ‘भारतबाट एयर इण्डिया एक्सप्रेसको उडान थपिएका कारण पनि भारतबाट आउने पर्यटकको संख्या वृद्धि भएको देखिएको छ । अबको अवधि निरन्तर पर्यटक आगमन वृद्धि हुनेमा आशावादी छौं ।’