राज्य व्यवस्था समिति सभापतिको निर्वाचन तालिका प्रकाशन

Yangle News
Yangle News
२०८२ भदौ ९ गते
राज्य व्यवस्था समिति सभापतिको निर्वाचन तालिका प्रकाशन

रिक्त राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको निर्वाचनको कार्यतालिका प्रकाशन भएको छ । सभामुख देवराज घिमिरेले राज्य व्यवस्था समितिको सभापतिको निर्वाचन बुधबार तोकेको संघीय संसदको महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

सूचनामा भनिएको छ, ‘प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा रिक्त रहेको सभापति पदको निर्वाचनको लागि प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७६ को उपनियम (१) बमोजिम सम्माननीय सभामुखले मिति २०८२ साल भदौ ११ गते बुधबारको दिन तोक्नुभएको बेहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

कांग्रेस र एमालेको सहमति रहेकाले यो पदमा अन्य दलको दाबी छैन । नेपाली कांग्रेसले राज्य व्यवस्था समितिको सभापतिको उम्मेवारको टुंगो नलगाउँदा निर्वाचनको सूचना प्रकाशन गर्न समस्या भएको थियो । कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा छेडखानी गरेको पाइएपछि विवादित बनेका समिति सभापति रामहरी खतिवडाले राजीनामा दिएपछि रिक्त रहेको हो । समितिको सभापति पद रिक्त भएको १५ दिनभित्र चुनाव गरिसक्नुपर्ने नियमावलीमा व्यवस्था छ ।

निर्वाचनको सूचना प्रकाशनका लागि सभामुख घिमिरेले आइतबार कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेसँग छलफल गरेका थिए ।