एएफसी यु-२० महिला कप खेल्ने नेपालको सम्भावना जीवितै

Yangle News
Yangle News
२०८२ साउन २३ गते
एएफसी यु-२० महिला कप खेल्ने नेपालको सम्भावना जीवितै

नेपालले एसिया कपमा छनोट हुने सम्भावना कायमै राखेको छ । एएफसी यु-२० महिला एसियन कप छनोटको दोस्रो खेलमा आज साउदी अरेबियालाई पराजित गरेसँगै नेपालको एसियन कप खेल्ने सम्भावना कायमै रहेको हो ।

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको खेलको निर्धारित समयको अन्तिम मिनेटमा सुक्रिया मियाँले गोल गर्दै नेपाललाई विजयी गराएकी हुन् । खेलको ३६औं मिनेटमा नेपालकी मनिषा सेनलाई बल अगाडि बढाउँदै गर्दा साउदीका खेलाडीले पेनाल्टी बक्सभित्र लडाउँदा नेपालले पेनाल्टी पाएको थियो । फर्वाड मिना देउवाले प्रहार गरेको पेनाल्टी दोस्रो बारमा लाग्दै रिबाउन्ड भयो । यहाँ नेपालले अग्रता बनाउने राम्रो अवसर खेर फाल्यो । पहिलो हाफ शून्य बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा नेपालले निकै आक्रमक फुटबल खेल्यो । जसको फलस्वरुप दोस्रो हाफको अन्तिम सेकेन्डमा नेपालले विजयी गोल गरेको हो । यसअघि नेपालले पहिलो खेल आयोजक टिम भुटानसँग १-१ बराबरी खेलेको थियो ।

नेपालले छनोट चरणको अन्तिम खेल १० अगष्टमा बलियो प्रतिद्वन्द्वी उत्तर कोरियासँग खेल्नेछ । साउदी अरेबियाले पहिलो खेलमा उत्तर कोरियासँग १५-० को हार व्यहोरेको थियो ।