एनपीएलको दोस्रो संस्करणका लागि अक्सन सूचीमा १५० खेलाडी

Yangle News
Yangle News
२०८२ साउन २१ गते
एनपीएलको दोस्रो संस्करणका लागि अक्सन सूचीमा १५० खेलाडी

नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणका लागि खेलाडीको अक्सन सूची सार्वजनिक भएको छ ।

आज नेपाल क्रिकेट संघ (क्यान)ले अक्सनमा सहभागी रहने १ सय ५० जना खेलाडीको अन्तिम सूची घोषणा गरेको हो । एनपिएल अक्सनका लागि ४ सय ५८ खेलाडीले दर्ता गराएका थिए । एनपिएलमा सहभागी ८ टोलीले इच्छाएका र क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डमा रहेका १ सय ५० खेलाडीलाई अन्तिम सुचीमा समावेश गरिएको हो । अक्सन शनिवार हुँदैछ ।

श्रेणी ‘ए’ मा ८ जना, श्रेणी ‘बी’ मा ३५ तथा श्रेणी ‘सी’ मा १ सय ७ खेलाडी रहेका छन् । यसबाट ३७ खेलाडीमा मात्र बोली लाग्नेछ । श्रेणी ‘ए’का लागि ४, श्रेणी ‘बी’का लागि २३ र श्रेणी ‘सी’का लागि १० का लागि बोली लाग्ने क्यानले जनाएको छ । क्यानका अनुसार श्रेणी ‘ए’को खेलाडीलाई न्युनतम १० लाखदेखि अधिकतम १५ लाख रुपैयाँ मूल्य तोकिएको छ । त्यस्तै, श्रेणी ‘बी’लाई न्युनतम ५ लाख र अधिकतम १० लाख तथा श्रेणी ‘सी’लाई न्युनतम २ लाख र अधिकतम ५ लाख मूल्य निर्धारण गरिएको छ ।

एनपिएलको पहिलो संस्करणको अक्सनबाट ८८ खेलाडी (मार्कीसमेत) विभिन्न टोलीमा संलग्न भएका थिए । अक्सनमा बोली लागेका ८८ खेलाडीमध्ये टोलीले दोस्रो संस्करणका लागि ५१ (मार्की समेत) खेलाडीलाई निरन्तरता दिएका छन् ।

Yangle News

Yangle News

Yangle News