वर्षाका कारणले सप्तकोशी नदीमा पानीको वहाव उच्च भएको छ । आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेण्ड एक लाख ९१ हजार २१० क्यूसेक पानीको वहाव मापन गरिएको थियो ।
आज बिहान गरिएको मापनमा कोशी ब्यारेजर भएर एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड पानीको वहाव रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए । अहिले ५२ मूल र चार नहरको गरेर ५६ ढोकामध्ये २३ खुल्ला गरिएको उनले जानकारी दिए ।
कोशी ब्यारेज भएर एक लाख ५० हजार भन्दामाथि पानीको वहाव भएपछि सर्वसाधारणलाई सचेत गर्न खतराको संकेतस्वरुप रातो बत्ती बाल्ने गरिएको छ । सोहीअनुसार रातो बत्ती बालिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । २०६५ भदौ २ गते एक लाख ६८ हजार क्यूसेक पानीको बहाव हुँदा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो ।
आज काठमाडौँसहित देशका ४१ जिल्लाका खोला नदीमा आकस्मिक बाढीको सम्भावना रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ । सिन्धुपाल्चोक, चितवन, मकवानपुर, रुकुमपश्चिम, दाङ, बाँके, बर्दिया, जाजरकोट, डोल्पा, दैलेख, सुर्खेत, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना छ ।
यसैगरी आज इलाम, झापा, सर्लाही, रौतहट, बारा, पर्सा, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, पाँचथर, स्याङ्जा, तनहुँ, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, धादिङ, नुवाकोट, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, रसुवा, दोलखा, पर्वत, म्याग्दी, डडेल्धुरा, बैतडी र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ ।