गुण्डानाइके मिलन गुरुङ (चक्रे मिलन) सहित गुण्डागर्दीमा संलग्न ४७ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले महाराजगञ्ज ठमेल र दरबारमार्ग क्षेत्रबाट गएराति उनीहरुलाई पक्राउ गरेको हो ।
नागरिक र व्यवसायीलाई धम्क्याउने, तर्साउने र आपराधिक गतिविधि बढाउने खालका गतिविधिमा सक्रिय देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) अपीलराज बोहराले जानकारी दिए । बिहीबार चक्रेको जन्मदिन थियो । महाराजगञ्जस्थित होटल साम्बालामा जन्मदिन मनाइरहेकै समय प्रहरी पुगेको थियो ।
उनीहरुलाई प्रहरी परिसरमै राखेर सोधपुछ र ‘स्क्रिनिङ’ भइरहेको एसपी बोहराले जानकारी गराए । यसअघि बुधबार राति प्रहरीको इन्काउण्टरमा मारिएका कुमार ‘घैंटे’का सहयोगी युवराज गुरुङ भनिने ‘सानुभाइ’ ठमेलबाट पक्राउ परेका थिए ।
रेष्टुरेण्ट र रात्रि क्लबमा बसेर झैझगडा गर्ने र हप्ता असुल्ने गरेको गुनासो आएपछि पछिल्लो समय अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरीको टोलीले राति संयुक्त अपरेसन चलाइरहेका छन् ।