रसुवागढी नाकामा बेलीब्रिज निर्माण सुरु

Yangle News
Yangle News
२०८२ साउन ११ गते
रसुवागढी नाकामा बेलीब्रिज निर्माण सुरु

नेपाल-चीनबीच उत्तरी नाका रसुवागढीको मितेरी पुल पुनर्निर्माण सुरुआत भएको छ । गत असार २४ गते ल्हेन्दे खोलामा आएको अकल्पनीय बाढीले १० मिटर चौडाइ र एक सय मिटर लम्बाइको पुलमा क्षति पुर्‍याएको थियो ।

चीन सरकारले पुल पुनर्निर्माण थालनी गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए । उनका अनुसार नेपाल-चीनबीच आवतजावत र व्यापारिक कारोबार बन्द भएपछि प्रथम चरणअन्तर्गत चीन सरकारले बेलीब्रिज निर्माण थालेको छ ।

यसका लागि भुइँ सतह मिलाउने सुरु भइसकेको छ । पक्की पुल निर्माणका लागि साविकको स्थानलाई यथावत छाडी दुई मिटर पूर्वतर्फ सारेर पुरातात्विक संरचनालाई कुनै असर नपार्ने गरी बेलीब्रिज निर्माण सुरु भइसकेको प्रजिअ पौडेलले जानकारी दिए ।

पुलका लागि चाहिने आवश्यक औजार चिनियाँ पक्षले रसुवागढी ल्याइसकेको जनाइएको छ । चार स्काभेटर उपकरणको सहायताले पुल बनाउने स्थान ल्हेन्देखोलाको भुइँ सतहमा अनियन्त्रित पानीलाई साविक सतहमा लैजाने काम अगाडि बढाइसकेको छ ।

बेलीब्रिज निर्माण आगामी भदौ ३० गतेभित्र सम्पन्न गर्ने चिनियाँ समकक्षीबाट जानकारी पाएको पनि प्रजिअ पौडेलले जानकारी दिए ।