सिनामंगलस्थित हवाई इन्धन डिपो सार्ने निगमको तयारी

Yangle News
Yangle News
२०८२ साउन ८ गते
सिनामंगलस्थित हवाई इन्धन डिपो सार्ने निगमको तयारी

नेपाल आयल निगमले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट पाँच दशक पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । गुह्वेश्वरीतर्फको नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराउने सहमति भएको ५० रोपनी क्षेत्रफलको जग्गामा निगमको डिपो स्थानान्तरण हुनेछ ।

आयल निगमले २०८४ मंसिरभित्र डिपो स्थानान्तरण गरिसक्ने गरेर नयाँ अत्याधुनिक डिपो बनाउने भएको हो । त्यसका लागि बिहीवार विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार भएको छ । नेपाल आयाल निगमको सिनामंगल डिपो स्थान्तरणका लागि पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानले आज हस्तान्तरण गरेको छ । भदौमा टेण्डर गर्ने तयारी रहेको छ ।

प्रस्तावित योजनाअनुसार हाललाई ३ हजार किलोलिटर क्षमताका ५ वटा भर्टिकल ट्यांकी निर्माण गरिने छ भने भविष्यमा भण्डारण क्षमता थप गर्न पर्याप्त खाली स्थानको समेत व्यवस्था गरिने छ । यसैगरी इन्धन लोडिङ तथा अनलोडिङका लागि क्रमशः ६ र ८ वटा ‘बे’ निर्माण गरिने छ । अन्तर्राष्ट्रिय उडान भर्ने जहाजका लागि ७ वटा पिट हाइड्रान्ट रिफ्युलिङ सिस्टम र २ वटा रिफ्युलिङ डिस्पेन्चर रहनेछन् । निगमका अनुसार डिपोमा अग्नि सुरक्षाका लागि २ हजार १ सय किलोलिटर क्षमताका २ वटा स्टाटिक वाटर ट्यांक र पूर्णस्वचालित फायर फाइटिङ सिस्टम जडान गरिने छ ।

गत मंसिरमा आयल निगमको सिनामंगल डिपो स्थान्तरणका लागि पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानसँग डीपीआर निर्माणका लागि सम्झौता भएको थियो । सोहीअनुसार पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानले आज आयल निगम सिनामंगललाई डीपीआर बुझाएको हो । डीपीआर हस्तान्तरण कार्यक्रममा नेपाल आयल निगम सिनामंगल डिपोका प्रमुख प्रदीपकुमार यादवले अहिले भएका डिपोहरु पुराना मोडलको रहेको बताउँदै अब बन्ने प्रोजेक्ट अत्याधुनिक प्रविधिको बन्ने बताए ।

उनकाअनुसार सरकारी इन्जिनियरहरुबाट पहिलो पटक ६ अर्ब ५४ करोडको प्रोजेक्टको डीपीआर निर्धारित समय भित्रै बुझाउने काम भएको छ । यसले आगामी दिनमा परियोजनालाई अघि बढाउन सघाउ पुग्नेछ । पहिला पनि आयल निगमले पुल्चोक इन्जिनियरिङको सहयोगमा पोखरामा एयर डिपो बनाएको बताए । उनले जहिले पनि एडीबी, विश्व बैंकको सहयोग लिने र बाहिरका विज्ञहरुलाई डीपीआरमा गुहार्ने तर उनीहरुले समयमै काम नगरिदिँदा आयोजनाहरुमा ढिलाइ हुने गरेको बताए । उनले डीपीआर निर्माणको काम नेपालीहरुले राम्रोसँग गर्नसक्ने बताए ।

कार्यालय प्रमुख यादवले भने, ‘विगतमा नागरिक उड्यन प्राधिकरणले जुन डीपीआर बनाउन एडीबीलाई गुहारेर जर्मनको हन्सा कन्सल्टलाई बोलाएर ५० औं करोड खर्च गरे त्यो डीपीआर पुल्चोक इन्जिनियरिङ क्याम्पसले १ करोड ९८ लाखमा समयमै बनाएर दिएको छ । हाम्रा नेपाली इन्जिनियरहरुले बनाएका छन् । जुन सेक्टरमा हामी अघि बढ्दैछौं । त्यो क्षेत्रमा हाम्रा नेपाली व्यवसायी, नेपाली इन्जिनियरलाई हामीले प्रोत्साहन गर्नुपर्छ ।’

त्रिभूवन अन्तर्रास्ट्रिय विमानस्थलसँगै जोडिएका कारण आयल निगमको डीपोले विमानस्थललाई जोखिम बढाएको भन्दै आलोचित हुनु परिरहेको छ । हालको स्थानमा रहेको डिपोका कारण स्थानीय बासिन्दासमेत जोखिममा छन् ।