‘नेपालजस्तो सम्भावना र अवसर भएको ठाउँ अन्यत्र छैन’

Yangle News
Yangle News
२०८२ असार २८ गते
‘नेपालजस्तो सम्भावना र अवसर भएको ठाउँ अन्यत्र छैन’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवा तथा विद्यार्थीहरूलाई नेपालमै बस्न आग्रह गरेका छन् । आज आयोजित राष्ट्रिय युवा महोत्सवमा सम्बोधन गर्दै उनले नेपालमा अपार सम्भावना भएको उल्लेख गर्दै यसको सदुपयोग गर्न आग्रह गरे ।

‘नेपालमा व्यावसायिक रुपमा अपार सम्भावना छन्, नेपालमा जस्तो सम्भावना अन्यत्र छैन, म पनि वैदेशिक रोजगारीका सिलसिलामा जापानमा गएर काम पनि गरेको छु, अनुभवका आधारमा मलाई नेपालका हरेक क्षेत्रमा सम्भावना छन्,’ उनले भने।

उनले सरकारले गर्न खोजेको र समाजको आवश्यकता सम्बोधन हुने खालको काम गर्न सकियो भने सफल हुन समय नलाग्ने उल्लेख गरे । नेपालमै पढ्न र नेपालमै अवसर खोज्नका लागि पनि उनले आग्रह गरे । ‘मैले सानै उमेरमा अभिभावक गुमाएको व्यक्ति हुँ, सानै उमेरदेखि नै व्यवसायिक क्षेत्रमा केही गरौं भन्ने सोच थियो, महत्वाकांक्षी नभई इमानदार भएर काम गर्ने हो भने सफल भइन्छ भन्ने मेरो अनुभव छ,’ उनले भने ।

उनले नेपालमा राम्रा कलेज र विश्वविद्यालय भएको उल्लेख गर्दै पढ्नका लागि विदेश जानुपर्ने अवस्था अहिले नरहेको बताए । आफू विश्वका सबैजसो देशमा पुगेको बताउँदै अध्यक्ष ढकालले नेपालजस्तो सम्भावना, अवसर भएको ठाउँ अन्यत्र नभएको बताए ।

कक्षा १२ पूरा गरी उच्च शिक्षाको यात्रा सुरु गर्न नतिजाको प्रतीक्षामा रहेका विद्यार्थीहरूका लागि लक्षित गरी मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी), सुनौलो नेपाल, परिवर्तनका लागि युवा (युथ फर चेन्ज), वाइइडी टक्स र इन डेप्थ स्टोरी (आइडीएस)ले महोत्सव आयोजना गरेको हो ।