ऋणीलाई कालोसूचीमा राख्ने अवधि पुनरवलोकन गर्न सुझाव

Yangle News
Yangle News
२०८२ असार २१ गते
ऋणीलाई कालोसूचीमा राख्ने अवधि पुनरवलोकन गर्न सुझाव

नेपाल उद्योग परिसंघले ऋणीलाई कालोसूचीमा राख्ने अवधिमा पुनरवलोकन गरिनुपर्ने माग गरेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिका लागि सुझाव बुझाएको हो ।

कालोसूचीमा चढ्नेको संख्या उल्लेख्य रूपमा बढेको भन्दै छिमेकी देशको व्यवस्था अध्ययन गरेर लचिलो नीति अबलम्बन गरिनुपर्ने सुझाव छ । ‘कर्जा समयमा तिर्न नसक्दा कालोसूचीमा पर्नेको संख्या पनि रफ्तारमा बढिरहेको छ । बैंक कर्जा नियतबस समयमा नतिर्ने व्यवसायी अपवाद भए पनि आमरूपमा त्यस्तो देखिँदैन,’ सुझावमा भनिएको छ ।

धेरैजसो व्यवसायीले चाहँदा-चाहँदै पनि समयमा ऋणको किस्ता तिर्न नसकेको सुझावमा उल्लेख छ । त्यसैगरी माइक्रोफाइनान्स संस्थाहरूको लाभांश वितरण सीमा १५ प्रतिशतको बन्देज हटाउनुपर्ने पनि सुझाव दिइएको छ । ‘यदि मुनाफा वितरण गर्न नदिने हो भने, कुनै पनि माइक्रोफाइनान्स संस्थाले व्यवसाय विस्तार गर्न, जोखिम लिन वा दीगो रूपमा अघि बढ्न प्रेरणा पाउँदैन,’ सुझावमा उल्लेख छ ।

त्यसैगरी सुझावमा नीतिगत दरलाई राष्ट्र बैंकको उद्देश्यअनुरूप अनुशासित गर्न सक्नेगरी प्रभावकारी हुनसक्ने बनाउनुपर्ने परिसंघको सुझाव छ । त्यस्तै, वैधानिक तरलता अनुपातको दर आवश्यकताअनुरूप घटाउनका लागि पनि राष्ट्र बैंक लचिलो रहुनुपर्ने उल्लेख छ । त्यसैगरी आधारदरभन्दा कममा बैंकहरूले कर्जा दिन नपाउने व्यवस्था खोरज गर्नुपर्ने माग पनि गरिएको छ ।

मौद्रिक नीति बनाउन राष्ट्र बैंकभित्र छुट्टै समिति गठन गर्न पनि सुझाव दिइएको छ । त्यसैगरी चालु पुँजीकर्जाको प्रावधान तत्काललाई स्थगन गरिनुपर्ने, निष्किय कर्जाको वर्गीकरण तथा त्यसअन्तर्गत समूहको कर्जाको सम्बन्धमा गरिएका सम्पूर्ण नयाँ प्रावधान खारेज गर्न पनि सुझाव दिइएको छ ।

त्यस्तै, नेपाल राष्ट्र बैंकको सञ्चालन समितिको संरचनामा सुधार गर्नुपर्ने पनि सुझाव दिइएको छ । राष्ट्र बैंक सञ्चालक सदस्य पहुँचको आधारमा भन्दा विज्ञ व्यक्ति हुनुपर्ने सुझाव दिइएको छ ।