एसईईको नतिजामा सुधार, गणित विषय सबैभन्दा कठिन

Yangle News
Yangle News
२०८२ असार १३ गते
एसईईको नतिजामा सुधार, गणित विषय सबैभन्दा कठिन

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार यस वर्ष ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् ।

गत वर्ष एसईईमा ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । बोर्डका अनुसार २०८१ सालको एसईईको नतिजामा १३.९५ प्रतिशतले सुधार आएको छ ।

२०८१ को एसईईमा नियमिततर्फ सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ल्याउनेहरू ४८ हजार १७७ रहेका छन् । त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थी ८१ हजार ३८५ जना र २.८ देखि ३.२ जीपीए ल्याउने विद्यार्थीहरू ८९ हजार १२४ जना रहेका छन् ।

त्यस्तै २.४ देखि २.८ जिपिए ल्याउने विद्यार्थीहरू ४८ हजार ४७९ जना र २ देखि २.४ जीपीए ल्याउने विद्यार्थीहरू ४ हजार १२६ जना र १.६ जीपीएदेखि २ जीपीएसम्म ल्याउनेहरू ८ जना रहेको बोर्डले जनाएको छ । १२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।

गणित कठिन

सबैभन्दा धेरै गणित विषयमा परीक्षार्थी अनुत्तीर्ण भएका छन् । गणित विषयमा १ लाख २८ हजार २१५ परीक्षार्थी अनुत्तीर्ण भएका हुन् । अंग्रेजीमा ८० हजार ६७२ विद्यार्थी अनुत्तीर्ण भए । त्यस्तै, साइन्स एण्ड टेक्नोलोजीमा ७९ हजार २७१, नेपालीमा ५४ हजार ७३५, सामाजिकमा ५३ हजार १८६, अर्थशास्त्रमा ४२ हजार १५० र ऐच्छिक गणितमा १८ हजार २२२ परीक्षार्थी अनुत्तीर्ण भएका छन् ।

ननग्रेड भएका विद्यार्थीहरूका लागि साउन २९ गतेदेखि मौका परीक्षा तोकिएको छ ।