किरात समुदायको मौलिक चाड उभौली साकेला-५०८५ किरात राई सोसाइटी बेल्जियमको आयोजनामा बेल्जियमको ऐतिहासिक सहर लुभेनमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा युरोपका विभिन्न देशहरूबाट आएका नेपाली समुदायका अगुवा, विभिन्न जातीय संघ-संस्थाका प्रतिनिधि तथा स्थानीय बेल्जियम सरकारका विशिष्ट पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बेनेलक्स तथा युरोपियन युनियनका लागि नेपाली राजदूत सेवा लम्सालले विदेशमा रहेका नेपालीहरूले आफ्नो संस्कृति जगेर्ना गर्न गरेका प्रयास अत्यन्त प्रशंसनीय रहेको बताउँदै भनिन्, ‘यस्ता मौलिक पर्वहरू प्रवासमा नेपालीहरूको पहिचान जोगाउने मेरुदण्ड हुन् । साकेलाले प्रकृति र समुदायसँगको सहजीविताको सन्देश दिन्छ ।’
विशेष अतिथि लुभेन नगर उपप्रमुख लोथे रामाकरले नेपाली समुदायको सांस्कृतिक बहुलता देखेर खुसी व्यक्त गर्दै नेपालको विविधता र यहाँको सांस्कृतिक धरोहर देखेर आफू प्रभावित भएको र यो विविधता विश्वकै सम्पत्ति भएको बताएका थिए । स्टाड लुभेनका उपमेयर दिर्क भेन्सिनाले पनि कार्यक्रमलाई समर्थन जनाउँदै लुभेन सहर सधैं बहुसांस्कृतिक सहकार्यको पक्षमा रहेको बताए । नेपाली समुदायले यो सहकार्यलाई अझ समृद्ध बनाएको उनको भनाइ थियो ।
कार्यक्रममा युरोपभरिबाट आएका किरात तथा अन्य नेपाली संघसंस्थाका अगुवाहरूले पनि मन्तव्य राख्दै साकेला चाडको महत्त्वमा प्रकाश पारे । किरात राई यायोक्खा बेलायतका निवर्तमान अध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष मेजर योगेश कोयी राईले भने, ‘साकेला हाम्रो आत्मा हो । यो पर्व मनाउनु भनेको हाम्रा पुर्खा र प्रकृतिलाई सम्झनु हो ।’
किरात राई यायोक्खा बेलायतका अध्यक्ष आशा राईले प्रवासमा साकेला मनाउँदा बालबालिकाले पनि आफ्नो जरा र पहिचान नबिर्सने भएकाले कार्यक्रम महत्वपूर्ण भएको बताइन् । किरात राई सोसाइटी पोर्चुगलका कोषाध्यक्ष अरुन राईले यस्ता आयोजनाहरूले हाम्रो साझा संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर दिने बताए ।
किरात राई समुदाय जर्मनीका अध्यक्ष डिल्लि राईले हामी जतिसुकै टाढा भए पनि संस्कृति हाम्रो जीवनको मूल रहेको बताए । सिलिम्पा किरात राई सोसाइटी पोर्चुगलका प्रतिनिधि अरून राई, सुमन राई र आधी सोताङले साकेला एक दिनको नाच मात्र नभएर यो जीवन दर्शनसमेत भएको धारणा राखे । किरात राई सोसाइटी स्पेनका अध्यक्ष युबराज राईले स्पेनमा पनि यस्ता कार्यक्रम सुरु गर्न प्रेरणा मिलेको सुनाए ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमकी अध्यक्ष सिता सापकोटाले एनआरएनए सधैं नेपाली समुदायको संस्कृति जोगाउने अभियानमा साथ दिने प्रतिवद्धता जनाइन् । किरात राई सोसाइटी स्वीटजरल्यान्डका प्रतिनिधि सामदुंग राईले आजको दिन हामीलाई हाम्रो मौलिकता सम्झाउने ऐतिहासिक दिन भएको उल्लेख गरे । किरात याक्थुङ चुम्लुङ बेल्जियमका अध्यक्ष वदन योङहाङले साकेला किरात सभ्यताको आत्मा भएको बताउँदै हामीले यसलाई पिढी दरपिढी हस्तान्तरण गर्नुपर्ने धारणा राखे । शेर्पा समाज बेल्जियमका अध्यक्ष पिडी शेर्पाले सामुदायिक सहकार्य र सम्मानले नेपालीहरूको उपस्थिति अझ मजबुत बनाउँने विश्वास व्यक्त गरे । तामाङ समाज बेल्जियमका अध्यक्ष लालिंग तामाङले सांस्कृतिक पहिचान कायम राख्न हामी सबै मिलेर अघि बढ्न जरुरी रहेको आवश्यकता औंल्याए ।
किरात राई सोसाइटी बेल्जियमले उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी दिनहरूमा अझ व्यापक सहभागिता र अन्तर्राष्ट्रिय सांस्कृतिक सहकार्यका लागि तत्पर रहने बताएको छ ।