मौसम अनुकूल भएसँगै आइतबार (जेठ ४) एकैदिन १३५ आरोहीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । वसन्तयामको जारी आरोहणमा एकैदिन धेरै संख्यामा आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएको पर्यटन विभागले जनाएको छ ।
सगरमाथाको आधार शिविरस्थित विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार, मौसम अनुकूल भएकाले आज धेरै आरोहीले सगरमाथा चढेका हुन् । सोमबार (जेठ ५) पनि धेरै संख्यामा आरोही सगरमाथाको चुचुरोमा पुग्ने योजनामा रहेका जनाइएको छ ।
विभागका निर्देशक हिमाल गौतमले भने, ‘मे १८ तारिखका दिन ‘म्याक्सिमम समिट प्लान’ थियो । त्यसैले धेरै संख्यामा आरोहीले सगरमाथा आरोहण गरेका छन् । सगरमाथा आरोहणको सुरुका केही दिन आरोहण अवरुद्ध भए पनि तीन दिनयता सर्वाधिक आरोहण भइरहेका छन् ।’
निर्देशक गौतमले हालसम्म २०० भन्दा बढीले सगरमाथा आरोहण गरेका जानकारी दिए । सोमबार पनि धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्ने योजनाका साथ गन्तव्यमा रहेका उनले बताए ।
विभागको तथ्यांकानुसार, वसन्त ऋतुमा हालसम्म ४७ आरोही समूहका ८६ महिला र ३८२ पुरुषसहित ४६८ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन् ।