स्याउ बोकेको कन्टेनरबाट ७ किलो ६५३ ग्राम सुन बरामद

Yangle News
Yangle News
२०८२ जेष्ठ ४ गते
स्याउ बोकेको कन्टेनरबाट ७ किलो ६५३ ग्राम सुन बरामद
सांकेतिक तस्बिर ।

पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करीप्रति प्रहरीका विभिन्न निकायको निगरानी बढिरहँदा उत्तरी नाकाबाट सुन आउने क्रम बढेको छ ।

विमानस्थलमा वैदेशिक रोजगारीमा गएकाहरुलाई प्रयोग गरेर सानो परिमाणमा सुन ल्याएर संकलन गर्ने प्रवृत्ति छ भने उत्तरी नाकाबाट किलोमा तस्करी हुने गरेको छ । नेपालबाट तस्करी हुने सुनमध्ये अधिकांश भारततर्फ जाने गरेको प्रहरी अनुसन्धानल देखाएको छ ।

प्रहरीले आज रसुवाबाट सात किलो ६५३ ग्राम सुन बरामद गरेको छ । बा ४ ख ६२०१ नम्बरको गाडी केरुङबाट काठमाडौं आउँदै गर्दा आज दिउँसो साढे १ बजे प्रहरीले सुन बरामद गरेको हो ।

स्याउ बोकेको कन्टेनरबाट उक्त परिमाणको सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका-५ का २४ वर्षीय किशोर भुजेल रहेका छन् ।

प्रहरीका अनुसार विशेष सुराकीका आधारमा नाकामा खानतलासी गर्दा सुन बरामद भएको हो । चालकको सिटनजिकै फल्स बटम बनाएर सुन राखिएको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्ति र सुनका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।