सीमामा सैनिक घटाउन भारत-पाकिस्तान सहमत

Yangle News
Yangle News
२०८२ बैशाख ३० गते
सीमामा सैनिक घटाउन भारत-पाकिस्तान सहमत

भारत पाकिस्तानबीचको युद्धविराम पछि दुई देशका डाइरेक्टर जनरल अफ मिलिट्री अपरेशन्स डीजीएमओबीच वार्ता भएको छ ।

हिजो साँझ भएको वार्तामा एक-अर्का देशविरुद्ध एक गोली पनि नचलाउने र कुनै पनि प्रकारको आक्रामकता सुरु नगर्नेबारे छलफल भएको छ । यस्तै सीमा क्षेत्र र अग्रमोर्चाबाट तत्कालै सैनिकको संख्या घटाउनेबारे छलफल भएको छ ।

दुवै पक्षले यी विषयहरु महसुस गरी निर्णय गर्ने सहमति भएको सुत्रहरुलाई उधृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।  दुई देशबीच शनिबार युद्धविरामको सहमति भएको थियो । त्यसयता आक्रमणका घटना नभए पनि दुवै देशले एकअर्काविरुद्ध आरोपप्रत्यारोप जारी राखेका छन् ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अपरेशन सिन्दुर अन्त्य नभएको बताए । उनले आतंकवादविरुद्धको कारबाही अपरेशन सिन्दुर स्थगित मात्र भएको बताए । राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले आगामी दिनमा पाकिस्तानका हरेक कदम निगरानी गरिने उल्लेख गरे । साथै उनले कुनै किसिमको आणविक ‘ब्लाकमेल’ सह्य नहुने चेतावनी समेत दिए ।

भारतको जम्मु-कश्मीरस्थित पहलगाममा नेपालका सन्दीप न्यौपानेसहित २६ पर्यटकको हत्या भएपछि त्यसको १५ दिनमा भारतले आतंकवादविरुद्धको कारबाही भन्दै भारतमा सैन्य हमला गरेको थियो ।