धितोपत्र बोर्डमा अख्तियारको छापा, पदाधिकारीसँग सोधपुछ

Yangle News
Yangle News
२०८२ बैशाख २४ गते
धितोपत्र बोर्डमा अख्तियारको छापा, पदाधिकारीसँग सोधपुछ

नेपाल धितोपत्र बोर्ड (सेवोन)मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अख्तियारले आज बोर्डमा छापा मारेको हो ।

आइपीओ निष्काशनका लागि पाइपलाइनमा रहेका सबै कम्पनीहरुको कागजातसमेत अख्तियारले बोर्डबाट आफ्नो नियन्त्रणमा लिएको छ। बोर्डमा लामो समयदेखि आइपीओ निष्कासनको अनुमतिका क्रममा विभिन्न विवादहरू आइरहेको थियो ।

अख्तियारको टोलीले बोर्डमा छापा मारी आइपीओ निष्कासनसम्बन्धी जानकारी लिएको स्रोतले बताएको छ । पाइपलाइनमा रहेका आइपीओका विषयमा अख्तियारको टोलीले सोधपुछसमेत गरेको छ ।

आइपीओ निष्कासनका लागि कमिसनको चलखेलको भएको आशंकामा अख्तियारको टोलीले बोर्डका पदाधिकारीसँग सोधपुछ गरेको स्रोतको भनाइ छ । ‘अख्तियारको टोलीले बुधबार आइपीओ निष्कासन सूचीमा रहेका कम्पनीहरूको बारेमा सोधपुछ गर्नुभयो,’ स्रोतले बताएको छ ।

निजी ऊर्जा उत्पादकहरूले आइपीओ निष्कासन स्वीकृति गर्नु अगाडि घुस मागेको आरोप लगाउँदै आएका थिए । सोही आधारमा अख्तियारले छापा मारेको अनुमान गरिएको छ ।

जलविद्युत् कम्पनीहरुले कमिसन मागिएको भन्दै आइतबार अख्तियारमा उजुरी गरेका थिए । मंगलबारमात्रै उनीहरुले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)सँग छलफल गरी बोर्डसँग औपचारिक जानकारी माग्ने बताएका थिए ।

बोर्डका अनुसार आइपीओ निष्कासनका लागि ८९ कम्पनी पाइपलाइनमा रहेका छन् ।