साताको सेयरबजार : नेप्से घटे पनि कारोबार रकम वृद्धि

Yangle News
Yangle News
२०८२ बैशाख २० गते
साताको सेयरबजार : नेप्से घटे पनि कारोबार रकम वृद्धि

यस साता नेप्से परिसूचक करिब साढे १ प्रतिशत घटेर बन्द भएको छ । गत साता २६५८.०२ विन्दुमा बन्द भएको नेप्से, यस साता १.२९ प्रतिशत अर्थात ३४.१९ अंक घटेर २६२३.८३ विन्दुमा झरेको छ ।

यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये ३ कारोबार दिन नेप्से घटेको थियो भने १ कारोबार दिन बढेर बन्द भएको थियो ।

नेप्से घटे पनि यस साता कारोबार रकम भने बढेको छ । गत साता दैनिक औषतमा ८ अर्ब २० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ९ अर्ब १८ करोडको शेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १२.०५ प्रतिशत बढेको हो । यस साता दैनिक औषत शेयर संख्या १५.२५ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ८.६३ प्रतिशत बढेको छ ।

यस साता १३ वटा उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.५० प्रतिशत बढेको छ । गत साता ४४६४.२५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ६७ अंक बढेर ४५३१.२५ विन्दुमा पुगेको छ । त्यस्तै, यस साता जलविद्युत र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढको छ ।

कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.६८ प्रतिशत घटेको छ । गत साता २३७५.९५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ६३.७५ अंक घटेर २३१२.२० विन्दुमा झरेको छ । अंकका आधारमा भने यस साता विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १२२.०६ अंक घटेको छ ।

यस साता नेप्सेमा ९५ लाख ८७ हजार ४७१.९३ कित्ता सूचीकृत भएको छ । यस साता मिथिला लघुवित्त वित्तीय संस्था, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी र ग्रिन भेन्चर्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो भने ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ नेप्सेमा सूचीकृत भएको हो ।