नेपाल शिक्षक महासंघले आन्दोलनलाई थप चर्काउने भएको छ । काठमाडौं केन्द्रित आन्दोलनमा आफूहरूमाथि भएको अत्याचारको प्रतिकार गर्ने महासंघले बताएको हो ।
अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शान्तिपूर्ण आन्दोलनमा रहेका शिक्षक कर्मचारी माथि भएको यो क्रूर दमनको विरोधमा आफूहरूसँग उभिन हामी सबै पेसागत संस्था, आम शिक्षा सरोकार समूह तथा आम नेपालीलाई अपिल गरेका छन् । उनले एक विज्ञप्तिमा जारी गर्दै भनेका छन्, ‘नेपाली शिक्षक-कर्मचारीहरू अग्रगामी विद्यालय शिक्षा ऐन बिना आफ्नो कार्यक्षेत्रमा नफर्कने कुरा पुनः उद्घोष गर्दै देशभरका सबै शिक्षक-कर्मचारी साथीहरूलाई आफ्ना साथीहरू माथि भएको यो अत्याचारको प्रतिकार गर्न अनिवार्य काठमाडौं आइ आन्दोलनमा सहभागी हुन जोडदार अपिल गर्दछौं ।’
आइतबार शान्तिपूर्ण आन्दोलन र विरोध सभामा सरकारद्वारा संरक्षित केही भिजिलान्तेहरू पसेर ढुंगामुढा गरी स्थिति भड्काऊ बनाई त्यसैको आडमा प्रहरीबाट शिक्षक-कर्मचारीमाथि पानीको फोहरा हान्ने, ढुंगा हान्ने तथा निर्मम ढंगबाट लाठी प्रहार गर्ने काम भएको महासंघको आरोप छ । बानेश्वरमा भएको झडपमा ६२ जना शिक्षक तथा कर्मचारी तथा केही सञ्चारकर्मी घाइते भएका छन् । तीमध्ये झण्डै १ दर्जनको अवस्था निकै चिन्ताजनक रहेको छ ।
सुवेदीले भनेका छन्, ‘हामी सबै घाइते साथीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ । साथै यो घटनामा घाइते भएको सबैको उपचारको जिम्मा लिन सरकारसँग जोडदार माग गर्दछौं । हामी सरकारबाट भएको यो ज्यादतीको घोर निन्दा तथा भर्त्सना गर्दछौं ।’
विद्यालय शिक्षाको सुधार र शिक्षक-कर्मचारीका पेसागत उन्नयनका पक्षमा गत वर्षको माघ २० गतेबाट निरन्तर शान्तिपूर्ण आन्दोलनमा रहेका छन् ।
विज्ञप्ति :