दुर्गा प्रसाईं र रविन्द्र मिश्रसहित २४ जनालाई थप हिरासतमा राख्न अनुमति

Yangle News
Yangle News
२०८२ बैशाख १४ गते
दुर्गा प्रसाईं र रविन्द्र मिश्रसहित २४ जनालाई थप हिरासतमा राख्न अनुमति

काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राप्रपा नेता रवीन्द्र मिश्र, मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायत २४ जनालाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले सात दिन हिरासतमा राख्न अनुमति दिएको हो । यसअघि वैशाख १० गते तीन दिन मात्रै म्याद थप भएको थियो । गत चैत १५ गते भएको उक्त घटनामा पक्राउ गरी परिसरले अनुसन्धान गरिरहेको छ ।

राज्य विरुद्धको कसुरमा म्याद थप हुनेहरुमा पुस्कर खतिवडा, गोपाल मल्ल, मुनिन्द्र राज भण्डारी, गोपिकृष्ण खड्का, सन्तोष चौधरी, रामकुमार धिमाल, पशुपति खड्का, हरिहर चौलागाईं, विष्णु पराजुली, तेजेन्द्र रायमाझी, सन्तोष कुमार सिलवाल, सरोज गौतम, गोकर्ण शाही र दुर्गा प्रसाईंका सहयोगी दीपक खड्का लगायत २४ जना छन् । यही मुद्दामा अनुसन्धान हुँदाहुँदै क्यान्सरको उपचार गर्ने प्रयोजनार्थ राप्रपाका महामन्त्री धवल शमशेर जबरा रिहा भएका थिए ।

उनीहरूलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गरिएकामा अनुसन्धानका लागि सात दिन म्याद थप गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले भने २० दिनको म्याद मागेको थियो ।

घटनामा ८५ जनालाई पक्राउ गरिएकामा २१ जना हाजिर जमानीमा छुटेका छन् भने ६४ जनामाथि अनुसन्धान भइरहेको छ । तीमध्ये प्रसाईं र मिश्रलगायत २४ जनालाई राज्यविरुद्धको अपराध र संगठित अपराधमा मुद्दा चलाइएको छ । बाँकीलाई भने आपराधिक उपद्रव र संगठित अपराधमा मुद्दा चलाइएको छ ।

तीनकुनेमा भएको राजावादीहरुको प्रदर्शन हिंसात्मक हुँदा दुईजनाको ज्यान गएको थियो भने दर्जनौं घाइते भएका थिए । सरकारीलगायत निजी संरचनामा आगो लगाउने र तोडफोड गर्ने कामसमेत भएको थियो ।