लगानी बोर्डले आफ्नो रणनीतिक तथा व्यावसायिक योजना स्वीकृत गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आइतबार बसेको बैठकले लगानी बोर्डको कार्यालयको रणनीतिक तथा व्यावसायिक योजना स्वीकृत गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए ।
त्यस्तै, बैठकमा बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले ६०औं बोर्ड बैठकले गरेका निर्णयको कार्यान्वयनका विषयका बारेमा जानकारी गराएको प्रवक्ता उपाध्यायले बताए ।
बैठकका लागि तय भएका १९ वटा एजेन्डामध्ये आइतबार दुईवटा एजेन्डामाथि मात्रै छलफल भएको र अन्य एजेन्डाका विषयमा अर्को साता बस्ने बैठकमा छलफल हुने उनले जानकारी दिए ।
बैठकमा बोर्डका अध्यक्ष ओलीका साथै उपाध्यक्ष उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का, मुख्यसचिव एकनारायण अर्याललगायत थिए ।