सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते ल्याउने भएको छ । बुधबार सिंहदरबारमा सभामुख देवराज घिमिरे र प्रमुख सचेतकसँग छलफलपश्चात एमालेका प्रमुख सचेतक महेश बर्तौलाले वैशाख १९ गते सरकारले नीति तथा कार्यक्रम पेश गर्ने गरी प्रतिनिधि सभा क्यालेन्डरको मस्यौदा तयार भएको जानकारी दिए ।
उनले बर्तौलाले विद्यालय शिक्षा विधेयकमा सदन पेश हुने बित्तिकै पारित गर्ने विषयमा सहमति भएको जानकारी दिए । बर्तौलाका अनुसार वैशाख १२ गते बस्ने पहिलो बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने तय भएको छ ।
यसैगरी प्रतिनिधिसभाको आगामी अधिवेशनमा सार्वजनिक बिदाका दिनबाहेक अन्य सबै दिन बैठक सञ्चालन गर्नेबारे छलफल भएको छ । शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद सञ्चालन गर्ने प्रस्ताव गरेका थिए । सभामुख घिमिरेले पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण बिदा बाहेकका सबै दिन संसद सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बताए । त्यस्तै उनले विद्यालय शिक्षा विधेयक सदनमा आएपछि प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा समेत जोड दिए । बैठकले सभामुखको प्रस्ताव अनुमोदन गरेको छ ।
सोहीबमोजिमको क्यालेन्डरबारे वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेस हुने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । उनले विद्यालय शिक्षा विधेयक सदनमा पेश भए त्यसलाई पनि प्राथमिकतामा आधारमा अघि बढाउने सहमति भएको बताए ।
उपसमितिले वैशाख २३ सम्मको समयावधिभित्रै विद्यालय शिक्षा विधेयक प्रतिवेदन बुझाउने प्रतिबद्धता जनाएको अवस्थामा यसलाई प्राथमिकता दिने गरी संसदले तयारी गरेको नेताहरुले बताएका छन् ।