प्रि-मनसुन विपद्जन्य घटनामा ४१ जनाको मृत्यु, २५७ घाइते

Yangle News
Yangle News
२०८२ बैशाख ६ गते
प्रि-मनसुन विपद्जन्य घटनामा ४१ जनाको मृत्यु, २५७ घाइते

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रि-मनसुनको समयमा हुने विपद्को जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।

अहिले प्रि-मनसुनको अवधि छ । साधारणतया मध्य फागुनदेखि मध्य जेठसम्म अर्थात् अंग्रेजी महिनाको मार्चदेखि मेसम्मको समयलाई प्रि-मनसुन भनिन्छ ।

प्रि-मनसुनमा स्थानीय वायुको प्रभावले सामान्यतया दिउँसो, साँझपख र राति मौसम खराब भई नेपालका केही स्थानमा असिना-पानी पर्ने, हावाहुरी चल्ने, मेघगर्जन र चट्याङ पर्नेजस्ता मौसमी गतिविधि भइरहेको प्राधिकरणले जनाएको छ ।

हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभावले केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खण्डित वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो मौसमी अवस्था अझै केही दिन रहने देखिन्छ ।

‘यसपालिको प्रि-मनसुनको हालसम्मको अवधिमा विपद्जन्य घटनामा परी ४१ जनाको मृत्यु र २५७ जना घाइते हुनुभएको छ । करोडौँ रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ,’ प्राधिकरणद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ ।

मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका निम्ति स्थापित कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र स्थानीय तहदेखि केन्द्रसम्म क्रियाशील संस्थागत संरचना र संयन्त्रको प्रभावकारी परिचालन जरुरी रहेको प्राधिकरणले औंल्याएको छ ।

प्राधिकरणले प्रि-मनसुनको अवधिमा मौसमी अवस्थाको कारणले घट्न सक्ने विपद्जन्य घटनाबाट सम्भावित धनजनको क्षति न्यूनीकरण गर्न जिम्मेवार सबै निकाय कार्यजिम्मेवारीअनुसार सक्रियतापूर्वक परिचालित हुन अनुरोध गरेको छ ।

‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जल तथा मौसम विज्ञान विभागलगायत निकायबाट जारी हुने विपद्सम्बन्धी सूचना, पूर्वानुमान एवं चेतावनीको पालना गर्न र विपद्बारे चासो राखी एवं चनाखो बनी विपद् सुरक्षित नेपाल निर्माणमा साथ र सहयोग पुर्‍याउनु हुन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सबैमा हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।