विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्ने तयारी भएको छ । विश्वविद्यालयको पहिलोपटक मंगलबार बस्ने परिषद बैठक (सिनेट)ले उपकुलपति नियुक्ति गर्ने भएको हो ।
विश्वविद्यालयको केन्द्रीय कार्यालय, संखुवासभाको खाँदबारीमा बस्ने परिषदको पहिलो बैठकले उपकुलपति र रजिष्ट्रार नियुक्त गर्ने विश्वविद्यालयका अध्यक्ष डा. अर्जुन कार्कीले कार्कीले बताए । बैठक पूर्व सोमबार दीर्घकालीन गुरु योजना तर्जुमा राष्ट्रिय परामर्श गोष्ठी आयोजना गरिएको थियो ।
विश्वविद्यालयको दीर्घकालीन गुरु योजना तर्जुमा राष्ट्रिय परामर्श कार्यक्रममा विश्वविद्यालयको पूर्वाधार गुरुयोजना, डीपीआर तयार लगायतका विषयमा छलफल भएको थियो । बैठकको पूर्व तयारीका रूपमा सरोकारवाला परिषद सदस्यहरू र विषय विज्ञहरूसँग दीर्घकालीन गुरुयोजना तर्जुमा राष्ट्रिय परामर्श गोष्ठी राखिएको अध्यक्ष कार्कीले बताए । विश्वविद्यालय स्थापनाका बारे भएका प्रगति विवरण, चुनौती तथा कानुनी जटिलताका बारेमा छलफल भएको छ ।
दीर्घकालीन गुरु योजना तर्जुमा राष्ट्रिय परामर्श गोष्ठीमा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की, पूर्व सांसद राजेन्द्र गौतम, प्रदेश सभासदस्यहरू राजेन्द्र कार्की, विदुर लिंथेप, विश्वविद्यालयका परिषद् सदस्यहरू, आयुर्वेदका विषयविज्ञ, प्राध्यापकलगायत उपस्थित थिए । सहभागीहरूले विश्वविद्यालयलाई नमुना विश्वविद्यालयका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । विश्वविद्यालयको उपकुलपति, रजिष्ट्रार, कर्मचारी नियुक्तिमा राजनीतिक हस्तक्षेप हुन नहुने विज्ञहरूले बताएका छन् । आयुर्वेद विश्वविद्यालय आयुर्वेद पढ्नेका लागि शैक्षिक हब बन्ने र जडिबुटीहरूको भण्डार रहेको अरुण उपत्यकाका क्षेत्र प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।
विश्वविद्यालय सञ्चालनका लागि खाँदबारी नगरपालिका-९ र भोजपुर जिल्लाको षडानन्द नगरपालिका-६ मा जग्गा अधिग्रहणसमेत गरिसकिएको छ ।