अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध देशैभर विरोध प्रदर्शन भइरहेको छ । दोस्रोपटक राष्ट्रपतिको पद सम्हालेपछि ट्रम्पविरुद्ध अमेरिकी जनताले प्रदर्शन गरेको यो पहिलोपटक हो ।
विरोधको निशानामा डज एलन मस्क पनि परेका छन् । ट्रम्प प्रशासनले गरेको पछिल्ला आदेशहरु र ‘डज’ भनिने सरकारी दक्षता विभागको नेतृत्व गर्दै आएका मस्कले व्यक्तिगत डेटामा निगरानी बढाउने, सरकारी निकायमाथि गरिरहेको हस्तक्षेपविरुद्ध विरोध भइरहेको हो ।
अमेरिकाका सबै ५० राज्यका करिब १२ सय स्थानमा विरोध प्रदर्शन भइरहेका छन् । जसलाई ‘ह्यान्ड्स अफ’ नाम दिइएको छ । यसको अर्थ ट्रम्पले जनताको मामिलामा हस्तक्षेप गर्नु हुँदैन भन्ने हो । प्रदर्शनकारीहरूले सामाजिक र आर्थिक मामिलालगायत धेरै विषयमा ट्रम्पको एजेन्डाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
विरोध प्रदर्शनमा उत्रिएकामध्ये ६ लाख मानिसले औपचारिक सहभागीको रुपमा हस्ताक्षरसमेत गरेका छन् । नागरिक अधिकार संगठनहरु, श्रमिक युनियनहरु, अधिवक्ताहरु, भूतपूर्व सैनिकहरु र निर्वाचन कार्यकर्ताहरुसहित एक सय ५० भन्दा बढी समूहले प्रदर्शनको आयोजना गरेको छ ।
ट्रम्पले विश्वका धेरै देशका सामानमा चर्को भन्सार शुल्क लगाएपछि अमेरिकाबाहिर पनि लन्डन, पेरिस र बर्लिनजस्ता विश्वका विभिन्न सहरमा पनि विरोध प्रदर्शन भएका छन् ।
अमेरिकाको बोस्टनमा केही प्रदर्शनकारीले अमेरिकी विश्वविद्यालयका विद्यार्थीविरुद्ध अध्यागमनसम्बन्धी छापा मारेका कारण विरोध गरिरहेको बताएका छन् । हालै अमेरिकी विश्वविद्यालयका केही विदेशी विद्यार्थीलाई गिरफ्तार गरी उनीहरूलाई देश निकाला गरिएको थियो ।
डेमोक्र्याटिक सांसदहरूको भाषण सुन्न वासिङ्टन डीसीमा हजारौं प्रदर्शनकारी भेला भएका थिए । भाषणमा ट्रम्प प्रशासनका धनी व्यक्तिहरूको आलोचना गरिएको थियो ।