देशका अधिकांश स्थानको मौसम सफा रहने अनुमान

Yangle News
Yangle News
२०८१ चैत्र १० गते
देशका अधिकांश स्थानको मौसम सफा रहने अनुमान

 

अहिले देशभर पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी, बागमती र मधेस प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ ।

कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने जनाएको छ । कोशी र बागमती प्रदेशका केही स्थान तथा मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी,  आज राति कोशी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने छ । कोशी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी र बागमती प्रदेशका केही स्थान तथा मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सभावना रहेको बताइएको छ ।