जनकपुरधाममा तीन दिन मासु र मदिरा बिक्री वितरणमा रोक

Yangle News
Yangle News
२०८१ मंसिर १९ गते
जनकपुरधाममा तीन दिन मासु र मदिरा बिक्री वितरणमा रोक

 

सीताराम विवाहपञ्चमी महोत्सवका अवसरमा जनकपुरधाम नगरक्षेत्रमा आजदेखि मासु, माछा तथा मदिरा बिक्री वितरणमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना प्रकाशित गर्दै आजदेखि तीन दिनसम्म माछा, मासु तथा मदिरा बिक्री वितरणमा रोक लगाएको हो ।

कार्यालयद्वारा जारी सूचनामा आजराति १२ बजेदेखि मङ्सिर २२ गते राति १२ बजेसम्म जनकपुर नगरक्षेत्रमा मासु, माछा तथा मदिरा बिक्री वितरण नगर्न नगराउन आदेश जारी गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको परिक्रमा क्षेत्रभित्र तथा परिक्रमा सडकको दायाँबायाँ मदिरा बिक्री वितरण, पशुपक्षी काटमार, माछा बिक्रीवितरण तथा उत्पादनलगायत अन्य नशालु पदार्थको सेवन नगर्न नगराउन अनुरोध गर्दै ती वस्तु पूर्ण रूपमा निषेध गरिएको सूचनामार्फत जनाइएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी राजुराम कडरियाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरी सूचना जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जनकपुर नगरदर्शनबाट सुरु हुने विवाहपञ्चमी महोत्सव रामकलेवा गरेसँगै मङ्सिर २२ गते सम्पन्न हुनेछ ।