जनकपुरधाममा विवाह पञ्चमीको उत्सव

Yangle News
Yangle News
२०८१ मंसिर १८ गते
जनकपुरधाममा विवाह पञ्चमीको उत्सव

श्रीराम र सीताको विवाह पञ्चमी महामहोत्सव अन्तर्गत मंगलबार धनुष यज्ञ गरिएको छ । महोत्सवको तेस्रो दिन धनुष यज्ञ गर्ने परम्परा अनुसार  यज्ञ सम्पन्न भएको हो ।

त्रेतायुगमा मिथिलाका राजा जनकको प्रतिज्ञाअनुसार जनकपुरधाममा आयोजना गरिएको धनुष यज्ञमा सहभागी हुन अयोध्या नरेश दशरथका ज्येष्ठ सुपुत्र भगवान् श्रीराम, लक्ष्मणसहित गुरु विश्वामित्र जनकपुरधाम आएका बेला माता सीतासँग फूल टिपिरहेका बेलामा फूलबारीमा जम्काभेट भएको स्मरणमा प्रत्येक वर्ष फूलबारी लीलाको आयोजना गरिँदै आइएको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिनुभयो । फूलबारी लीला हिजो सम्पन्न भएको छ ।

जनकपुरधामको ऐतिहासिक महत्वको विवाह मण्डपमा सोमबार साँझ फूलबारी लीलाको आयोजना गरिएको थियो । ‘यहाँ राम, लक्ष्मण र सीताको प्रतिकात्मक रूपमा त्रेतायुगमा बगैंचामा फूल टिप्न आएका बेला भेट भएको धार्मिक विश्वास छ । त्रेता युगलाई स्मरणीय बनाउन यसप्रकारको कार्यक्रम गरिएको हो’, महन्थ वैष्णवले भने ।

साताव्यापी विवाह पञ्चमी महोत्सवको आइतबार मङ्सिर १६ गते नगर दर्शन, सोमबार दोस्रो दिन फूलबारी लीला, मंगलबार धनुष यज्ञ, १९ गते तिलकोत्सव, २० गते मटकोर, २१ गते स्वयंम्बर र शुभविवाह तथा २२ गते रामकलेवा पछि पर्वको समापन गरिन्छ ।