प्रख्यात आरोही कामीरिता शेर्पाले ३१औं पटक सगरमाथाको आरोहण गरेका छन् । योसँगै उनले सर्वाधिक आरोहणको आफ्नै कीर्तिमान तोड्दै नयाँ कीर्तिमानसमेत कायम गरेका छन् ।
आज बिहान ४ बजेतिर उनले सर्वोच्च शिखर सगरमाथाको ३१औं पटक सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् । उनले लेखेका छन्, ‘इतिहासमै सबैभन्दा धेरै पटक सगरमाथा आरोहणको कीर्तिमानी ५५ वर्षीय कामीरिता शेर्पालाई ३१औं पटकको सफल आरोहणका लागि बधाइ ।’
उनी २२ जना भारतीय सैनिकको आरोहण दलको मुख्य गाइडका रूपमा सगरमाथा आरोहणमा गएका थिए । भोलि सगरमाथा आधार शिविरसम्म झर्ने र त्यहाँबाट काठमाण्डौ फर्किने तालिका छ । गत वर्ष उनले ३०औं पटक सगरमाथाको आरोहण गरेका थिए ।
सोलुखुम्बु थामेका कामीरिता सगरमाथाको सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउने एक मात्र शेर्पा गाइड तथा पर्वतारोही हुन् । कामीरिता ‘एभरेस्ट म्यान’ नामले पनि परिचित छन् ।
२०३९ सालमा १२ वर्षको उमेरदेखि हिमाल आरोहण क्षेत्रमा काम गर्दै आएका कामीरिताले पहिलोपटक २०५१ सालको वसन्तकालीन याममा सगरमाथा आरोहण गरेका थिए ।