ग्लोबल आइएमई बैंक लिमिटेडले जर्मनी सरकारको स्वामित्वमा रहेको जी आई जेडसगँ सहकार्य गरी नेपालमा विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने सम्बन्धी सम्झौता गरेको छ । नेपाल नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको सहकार्यमा जीआईजेडले मिटिगेशन एक्सन फ्यासिलिटीको लगानीमा “दीर्घकालिन विद्युतीय यातायातका लागि नेपाल” परियोजना सञ्चालन गरिरहेको छ ।
नेपालमा विद्युतीय सवारी साधनको प्रयोग वृद्धि गर्ने उद्देश्यले विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्न लागेको बैंकले जनाएको छ ।
सार्वजनिक यातायात सेवामा विद्युतीय सवारी साधनको प्रयोगले पेट्रोलियम पदार्थको खपतमा कमी आउने र सवारी साधनबाट हुने वातावरणीय प्रदुषणमा कमी आउने विश्वास बैंकको छ ।
यसअघि बैंकले व्यक्तिगत प्रयोजनका विद्युतीय सवारी साधनलाई न्यूनतम् व्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ । जर्मनी सरकारको स्वामित्वमा रहेको जीआईजेडले विश्वभर दिगो विकास, शैक्षिक गुणस्तर विकास, जीवनयापन विकास जस्ता क्षेत्रमा लगानी गर्दै आएको छ ।