प्रतिनिधि सभाद्वारा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक पारित

Yangle News
Yangle News
२०८० चैत्र २१ गते
प्रतिनिधि सभाद्वारा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक पारित

 

प्रतिनिधिसभाले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक पारित गरेको छ । राष्ट्रिय सभामा २०७७ असार २८ मा दर्ता भएको विधेयकलाई प्रतिनिधिसभाको बैठकले पारित गरेको हो । यो विधेयकलाई राष्ट्रिय सभाले यसअघि नै पारित गरिसकेको थियो ।

खाद्य स्वच्छता तथा गुणस्तर विधेयक प्रतिनिधिसभाबाट पनि पारित कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वाला साहले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा राखेकी थिइन् । विधेयक प्रतिनिधिसभाको बहुमतले पारित भएको हो ।

विधेयकले मानव स्वास्थ्यको सुरक्षा तथा उपभोक्ता हित संरक्षणका लागि खाद्य पदार्थको स्वच्छता गुणस्तर निर्धारण गर्ने कानुनी व्यवस्था गरेको छ । मन्त्री साहले नेपाली युवाहरूलाई कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्ने नीति अगाडि सारेको, आयात प्रतिस्थापन र निर्यात प्रबर्धन गर्ने नीति लिएकाले यो विधेयक कार्यान्वयनमा आएपछि नेपालको कृषि क्षेत्रमा राम्रो प्रभाव पर्ने बताइन् ।

विधेयकमा खाद्यवस्तुको अनुगमनको कमी आएको कुरालाई सम्बोधन गर्ने मन्त्री साहको भनाइ थियो । विधेयकले खाद्यवस्तुको अनुगमनमा कानुनी कडाइको व्यवस्था गरेको बताउँदै मन्त्री साहले विधेयकमा राखिएका कानुनी प्रावधान कार्यान्वयनमा लैजान सबैले सहयोग गर्नुपर्ने बताइन् ।

पारित भएको विधेयकमा खाद्यान्नमा हुने कालोबजारी रोक्नका लागि पनि कानुनी व्यवस्था गरिएको एवं नेपालका रैथाने उत्पादनलाई बजार व्यवस्थापन गर्ने प्रावधान राखिएको उनले जानकारी दिइन् ।

सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्रमाणीकरण भएको ९१ औँ दिनदेखि प्रारम्भ हुने जानकारी दिँदै विधेयक बहुमतले पारित भएको घोषणा गरे ।