अरुण र दूधकोशी जलविद्युत् आयोजना विकासमा एडीबी र विश्व बैंकले सहकार्य गर्ने

Yangle News
Yangle News
२०८० मंसिर २२ गते
अरुण र दूधकोशी जलविद्युत् आयोजना विकासमा एडीबी र विश्व बैंकले सहकार्य गर्ने

 

प्रस्तावित माथिल्लो अरुण र दूधकोशी जलविद्युत् आयोजना विकासका लागि एसियाली विकास बैंक (एडीबी) र विश्व बैंकबीच सहकार्यको सहमति भएको छ । यसका लागि यी दुई बैंकले समझदारीपत्र (एमओयू) गरेका छन् ।

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप-२८) चलिरहँदा एसियाली विकास बैंककी उपाध्यक्ष फात्तिमा यस्मिन र विश्व बैंकको दक्षिण एसियाली क्षेत्रका उपाध्यक्ष मार्टिन रेसरले एमओयूमा हस्ताक्षर गरेका हुन् । समझदारीअनुसार यी संस्थाले उल्लिखित आयोजना विकासका लागि आगामी पाँच वर्षसँगै काम गर्ने छन् ।

यी दुई बहुपक्षीय बैंकको सहकार्यबाट जलविद्युत् क्षेत्रमा आपसी ज्ञान र अनुभव साटासाट तथा ऊर्जा क्षेत्रको विकासका लागि समान धारणाका साथै विश्लेषणात्मक अध्ययन तथा जलविद्युत् क्षेत्रको विकासका लागि परामर्शसमेत उपलब्ध गराइने बताइएको छ ।

समझदारीपछि एडीबी र विश्व बैंकले नेपालको ऊर्जा विकास, कार्यान्वयनकारी निकायहरूको संस्थागत क्षमता विकास, नेपालका ठूला जलविद्युत कम्पनीको विकास तथा ऊर्जा क्षेत्रमा वित्तीय सहयोग उपलब्ध गराउने जनाएको छ । एडीबीले एसियामा गरिबी न्यूनीकरणसहित समृद्ध, समावेशी, उत्थानशीलता र दिगो विकासका लागि प्रतिबद्ध रहेको ती निकायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।