नेपाल अर्को वर्ष हुने टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा शुक्रबार यूएईलाई ८ विकेटले पराजित गर्दै नेपालले १० वर्षपछि टी–२० विश्वकपमा स्थान पक्का गरेको हो ।
नेपाल टि-२० विश्वकपमा चयन भएको यो दोस्रो पटक हो । दश वर्षपछि विश्वकपमा पुनरागमन गरेको नेपालले सन् २०१४ मा बङ्गलादेशमा भएको टि-२० विश्वकप खेलेको थियो ।
सपछि नेपाल लगातार अन्तिम समयमा विश्वकपमा छनोट हुनबाट वञ्चित हुँदैआएको थियो । युएईले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १३४ रनको सामान्य स्कोर तयार पारेको थियो । नेपालले सजिलै १७.१ ओभरमा दुई विकेटको क्षतिमा १३५ रन बनाएर लक्ष्य हासिल गरेको छ ।
आठ टिम सहभागी छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोली सन् २०२४ मा हुने ट-२० विश्वकप खेल्न पाउने छन् । विश्वकप टि-२० अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । सो प्रतियोगितामा अहिलेसम्मकै सबभन्दा बढी २० टिमको सहभागिता रहनेछ ।
मुलपानीस्थित क्रिकेट मैदानमा शुक्रबार नै भएको अर्को सेमिफाइनलमा बहराइनलाई दस विकेटले हराएर ओमान पनि विश्वकपमा खेल्न योग्य बन्यो ।