विश्व पर्यटन दिवस : पर्यटन क्षेत्रमा टेवा पुर्याउने व्यक्ति र कम्पनी सम्मानित  

Yangle News
Yangle News
२०८० अशोज १० गते
विश्व पर्यटन दिवस : पर्यटन क्षेत्रमा टेवा पुर्याउने व्यक्ति र कम्पनी सम्मानित  

विश्व पर्यटन दिवसको अवसरमा सरकारले पर्यटन क्षेत्रमा योगदान गर्ने कम्पनी तथा व्यवसायीलाई सम्मान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अघिल्लो वर्ष पर्यटन क्षेत्रमा सबैभन्दा बढी योगदान गरेका कम्पनीहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा सेभेन समिट ट्रेक्स प्रालि,  एभरेष्ट हस्पिटालिटी एण्ड होटल, सीता वर्ल्ड ट्राभल नेपाल प्रालि,  पोखरा अल्ट्रा प्रालि लगायत कम्पनी सम्मानित भएका हुन् । सीता वर्ल्ड ट्राभल नेपाल प्रालिले एक वर्षमा सबैभन्दा बढी विदेशी मुद्रा ३३ लाख ६१ हजार १३६ डलर भित्राएको थियो । सेभेन समिट कम्पनीले १ अगस्ट २०२२ देखि २०२३ अगस्टसम्म २३ लाख २२ हजार ६४ अमेरिकी डलर आर्जन गरेको थियो ।

यस्तै एभरेष्ट हस्पिटालिटी एण्ड होटल तथा रिसोर्टतर्फ बढी विदेशी मुद्रा भित्राएवापत सम्मानित भएको छ । यो कम्पनीले एक वर्षमा ५० लाख ४१ हजार २३७ डलर भित्राएको देखिएको छ । पोखरा अल्ट्रा प्रालि साहसिक खेलतर्फ सम्मानित भएको छ । यो कम्पनीले एक वर्षमा ४४ हजार ३८८ अमेरिकी डलर विदेशी मुद्रा भित्राएको छ ।

एयरलाइन्स कम्पनीतर्फ नेपाल वायुसेवा निगम सम्मानित भएको छ । निगमले एक वर्षमा ८ करोड ४५ लाख ९ हजार ९३७ अमेरिकी डलर विदेशी मुद्रा नेपाल भित्राएको छ । आफ्नै रिसोर्ट परिसरमा उत्पादित माछा, तरकारी, सागपात र कुखुरा पालन गरी एग्रो टुरिजम प्रवर्द्धन गरेको लुम्बिनी ग्रीन रिसोर्ट शिवराज कपिलवस्तु समेत सम्मानित भएको छ ।

होमस्टेतर्फ अमलटारी होमस्टे नवलपरासी सम्मानित भएको छ । विश्वका ८ हजार मिटर भन्दा अग्ला १४ हिमाल ९२ दिनमा आरोहण गरी कीर्तिमान राखेका क्रिष्टिन हारिला र लामा तेन्जिन शेर्पा पनि सम्मानित भएका छन् ।