आजदेखि काठमाडौँबाट बाहिरीने सार्वजनिक सवारी साधन नयाँ बसपार्कबाट

Yangle News
Yangle News
२०८० असार १ गते
आजदेखि काठमाडौँबाट बाहिरीने सार्वजनिक सवारी साधन नयाँ बसपार्कबाट

 

काठमाडौँभित्र उपत्यकाबाट बाहिरी जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारीसधान आजदेखि नयाँ बसपार्कबाट सञ्चालन भएका छन् ।

काठमाडौँ महानगरपालिकाले उपत्यकाको सार्वजनिक सवारी साधनलाई व्यवस्थित गर्न गत जेठ १९ गते एक सूचना जारी गरी असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट लामो, मध्यम तथा छोटो दूरीका सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयको कार्यान्वयस्वरुप आजदेखि जीप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन भएका हुन् ।

काठमाडौँको बल्खु, कलङ्की, बालाजु, माछापोखरी, कोटेश्वरलगायत क्षेत्रमा काउण्टर राखेर सञ्चालन हुँदै आएका माइक्रोबस पनि आजदेखि नयाँ बसपार्कभित्रबाट सञ्चालन भएका छन् ।

 

अन्य स्थानका काउन्टर हटाउँदै महानगर

महानगरले आज बिहानैदेखि चक्रपथ क्षेत्रमा अव्यवस्थितरुपमा सञ्चालित टिकट काउण्टर हटाएको छ । कामपाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले गोङ्गबु, कलङ्की क्षेत्रमा अव्यवस्थितरुपमा राखिएका टिकट काउण्टर हटाइएको जानकारी दिए ।

उनका अनुसार महानगरको निर्णय कार्यान्वयन भएसँगै दैनिकरुपमा उपत्यका बाहिर सञ्चालित करिब दुई हजार सार्वजनिक यातायात बसपार्कभित्रबाट सञ्चालन हुनेछन् । “माइक्रोबस तथा जीपलाई सञ्चालन गर्नका लागि लोत्से मल पछाडि पार्किङ र काउण्टरको व्यवस्था गरिएको छ”, प्रहरी प्रमुख पाण्डेले बताए ।

नयाँ बसपार्कभित्रबाट यातायात सञ्चालन गर्नका लागि यातायात व्यवसायीको सहकार्यमा लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ टिकट काउण्टर निर्माणलाई तीव्रता दिएको छ ।

यसअघि नयाँ बसपार्कबाट पोखरा, नारायणगढ, डुम्रे, दमौली, लमजुङ, गोरखा, धादिङ, त्रिशूली बागलुङ, बेनी, स्याङ्जा वालिङ, बुटवल, भैरहवालगायत ठाउँका लागि ठूला सार्वजनिक सवारी साधनमात्र सञ्चालन हुँदै आएका थिए । त्यस्तै,  कोटेश्वरबाट विपी राजमार्ग हुँदै पूर्व जाने माइक्रोबस र बल्खुबाट हेटौँडा चल्ने टाटासुमो सञ्चालन हुँदै आएका थिए ।

काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित गर्दै पार्किङका लागि महानगरले २०५६ सालमा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँबसपार्क सञ्चालनमा ल्याएको थियो । एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा आठ सयभन्दा बढी सार्वजनिक सवारी साधन अट्ने क्षमता रहेको छ ।

 

293 views