वैकुण्ठ अर्याल मुख्य सचिव नियुक्त

Yangle News
Yangle News
२०८० जेष्ठ ३२ गते
वैकुण्ठ अर्याल मुख्य सचिव नियुक्त

 

सरकारले मुख्य सचिवमा वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको परराष्ट्रमन्त्री एनपी साउदले बताए ।

यस्तै सरकारले राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकारमा शंकरदास बैरागीलाई नियुक्त गरेको छ । ३ महिनापछि अवकाश पाउन लागेका बैरागीलाई मुख्य सचिवबाट राजीनामा गराएर राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरिएको हो ।

सचिवहरूमध्येमा वरिष्ठताका आधारमा अर्याललाई मुख्यसचिवमा नियुक्त गरिएको परराष्ट्रमन्त्री साउदले जानकारी दिए । अर्याल यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव थिए ।

०४६ सालमा नासुबाट सेवा प्रवेश गरेका अर्याल ०४९ सालमा शाखा अधिकृत बनेका थिए । यसअघि सचिवका रुपमा उनले वित्त आयोग, वाणिज्य मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा जिम्मेवारी सम्हालेका थिए ।

सहसचिव हुँदा उनले योजना आयोग, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेर काम गरे । अर्थशास्त्रमा नर्वेबाट विद्यावारिधि गरेका अर्यालले यसअघि वित्त आयोगमा सचिव भएर काम गर्दा नेपालको संघीय वित्तीय हस्तान्तरणमा महत्त्वपूर्ण भूमिका निभाएका थिए ।

353 views