काठमाडौँ महानगरपालिकाभित्र अव्यवस्थितरूपमा राखिएका टेलिफोन, इन्टरनेटलगायतका तार व्यवस्थापनको काम धमाधमरूपमा भइरहेको छ । महानगरपालिकाको ताकेतापछि सेवा प्रदायक कम्पनीले टेलिफोन, इन्टरनेट, केवललगायतका तार व्यवस्थित गर्ने उद्देश्यले तार काट्ने र हटाउने काम भइरहेको हो ।
तार व्यवस्थापनका लागि काटिएका तार सडकपेटीमा अलपत्र छोडिँदा पैदलयात्रुलाई समस्या हुनुका साथै त्यसले दुर्घटनाको जोखिम बढाएको काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलका ज्ञानु राणाले बताए ।
उनले भने, “अव्यवस्थित तार व्यवस्थापन गर्ने कार्य राम्रो हो, तर काटिएका तार सडकमा छोडिएका कारण त्यसले दुर्घटना निम्तिनुका साथै पैदलयात्रुलाई पनि समस्या हुने गरेको छ ।” बानेश्वर, थापागाउँलगायत क्षेत्रमा सेवा प्रदायक कम्पनीले अहिले तार काटेर फुटपाथमै भद्रगोलरूपमा छाडेका कारण अल्झिएर लड्ने खतरा बढेको उनको भनाइ छ ।
सडकमै छोडिएका तारमध्ये सबैभन्दा बढी इन्टरनेट, केबल सेवा प्रदायकका तार र टेलिफोनका तार बढी रहेका छन् ।
काठमाडौँ महानगरपालिकाभित्रका अव्यवस्थित तार व्यवस्थापन गर्ने कार्य गएको वैशाख २५ गतेबाट सुरु भएको हो ।
सेवाका लागि चाहिनेभन्दा धेरै तार राखेर पोलमा भएको जोखिम, सहरी सुन्दरतामा देखिएको असर र आगलागीको जोखिमलगायत पक्षलाई हेर्दै महानगरपालिकाले पहिलो चरणमा माइतीघर मण्डलादेखि बानेश्वर हुँदै एयरपोर्टसम्म र न्यूरोडदेखि वसन्तपुर, असन क्षेत्रको तार व्यवस्थापन गर्न सुरु गरेको हो ।
पछिल्लो समय काठमाडौँ महानगरभित्र अव्यवस्थित तार व्यवस्थापन गर्ने कार्य राम्रो भएको नयाँ बानेश्वरका स्थानीय मुकेश हमालले बताए । उनले भने, “तार व्यवस्थापन गर्दा राम्रो त देखिएको छ तर, बाटोमा तार फालिएका कारण पैदलयात्रुलाई समस्या हुने गरेको छ, बाटोमा फालिएका तार चाँडो व्यवस्थापन गरिनुपर्छ ।”