काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा स्थलहरुको प्रवद्धृन गर्ने उद्धेश्यले आजबाट सम्पदा घुम्ती बस सेवा शुरु गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराती र ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले आज ललितपुरबाट सम्पदा घुम्ती बस सेवाको शुभारम्भ गरे ।
नेपाल पर्यटन बोर्ड र ललितपुरको सहकार्यमा विश्व सम्पदा सूचिमा सुचिकृत सम्पदाहरु– पाटन दरबार स्क्वायर, काठमाण्डौं दरबार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भुनाथसम्म सहज रुपमा पुग्ने गरि आजबाट “सम्पदा घुम्ती बस सेवाको परिक्षण सञ्चालन गरिएको हो ।
बस सेवाको उद्घाटन गर्दै मन्त्री किराँतीले यो बस सेवा सञ्चालनले काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रहरुको प्रवद्धृन हुने अपेक्षा गरिएको बताए । उनले उपत्यकाको पर्यटन प्रर्वद्धनका लागि एउटा सानो प्रयास भएको भन्दै यसको परिक्षण पश्चात सेवा विस्तार गरिने समेत जानकारी दिए ।
कार्यक्रममा ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले पर्यटन प्रर्वद्धनका लागि सम्पदा घुम्ती बस सेवा सहयोगी हुने बताएका थिए ।
सम्पदा घुम्ती बस विहान ८ बजे देखि बेलुकी ६ बजेसम्म सञ्चालन हुनेछ । जसअनुसार बस जाँदा साझा यातायात, पुल्चोक टुरिष्ट बसपार्क, महाकाल मन्दिर, आर्मी हस्पिटल, जमल, दरबारमार्ग , नारायणहिटी दरबार संग्रहालय त्यस्तै कमलपोखरी , पशुपतिनाथ मन्दिर स्थित टुरिष्ट बसपार्क, गौशाला, चाबहिल चौक, तारागाँउ संग्रहालय हँदै बौद्ध पुग्ने छ ।
फर्किदा तारागाँउ संग्रहालय, बौद्ध, चावहिल चोक,नारायण गोपाल चोक, गोंगबु बसपार्क, स्वयम्भु-भगवान पाउ, छाउनी संग्रहालय, परोपकार (कालीमाटी) कालीमाटी चोकबाट बल्खु चोक, रिङरोड हुँदै एकान्त कुना, सदर चिडियाखाना, जावलाखेल चोक हुँदै साझा यातायातको कार्यलय पुल्चोक आउने बोर्डले जानकारी दिएको छ । बसको भाडाका विषयमा हाल कार्यविधि निर्माणको काम भइरहेकोले सेवा निशुल्क गरिएको छ । चाँडैनै समायोजन सहित भाडा दर कायम गर्ने बोर्डको तयारी छ ।