तारागाउँ होटललाई तीन दिनभित्र जवाफ पेश गर्न पर्यटन मन्त्रालयको पत्र

Yangle News
Yangle News
२०८० बैशाख ६ गते
तारागाउँ होटललाई तीन दिनभित्र जवाफ पेश गर्न पर्यटन मन्त्रालयको पत्र

तारागाउँ (हायात) रिजेन्सी होटल लिमिटेड र तारागाउँ विकास समितिलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तीन दिनभित्र जवाफ पेस गर्नु भन्दै  प्रश्नहरू सोधेको छ।

पर्यटन मन्त्री सुदन किराँतीले मंगलबार मन्त्रिस्तरीय निर्णय गर्दै होटल हायातसँग सम्झौता किन नतोड्ने र तारागाउँ विकास समितिलाई किन विघटन नगर्ने भन्दै  प्रश्न सोधेका हुन्। मन्त्री किराँतीले होटलसँग २७ र विकास समितिसँग २२ वटा प्रश्नको जवाफ मागेका छन् ।

मन्त्रालयले तारागाउँ विकास समितिमार्फत नेपाल सरकारको लगानी तथा प्रतिफलको अध्ययन, अनुसन्धान, छानबिन तथा सुझाव सुधार कार्यदलको प्रतिवेदन, २०७९ ले तारागाउँ विकास समिति र तारागाउँ रिजेन्सी होटल्स् लिमिटेडको नीति निर्णय, काम कारबाहीमा विभिन्न कोणबाट विश्लेषण गरेको जनाएको छ ।

मन्त्रालयले दुवै निकायलाई पठाएको पत्रमा समिति र होटलको विभिन्न कोणबाट गरिएको अध्ययनअनुसार प्रतिवेदनमा उठेका मुद्दामा प्रशस्त प्रश्न गर्न सकिने ठाउँ देखिएको बताइएको छ।

कुनैकुनै विषयहरू निकै गम्भीर प्रकृतिका भएकाले यस्तो परिप्रेक्ष्यमा यथास्थितिमा समिति र होटललाई सञ्चालन र व्यवस्थापनलाई निरन्तरता दिने या नदिने भन्ने निष्कर्षमा पुग्नुपर्ने पत्रमा भनिएको छ।

292 views