इजरायलले भन्यो- गाजाको ४० प्रतिशत भूभाग हाम्रो नियन्त्रणमा छ

Yangle News
Yangle News
२०८२ भदौ २० गते
इजरायलले भन्यो- गाजाको ४० प्रतिशत भूभाग हाम्रो नियन्त्रणमा छ

इजरायली सेनाले बिहीबार गाजा सहरको ४० प्रतिशत भूभाग कब्जा गरेको घोषणा गरेको छ । अब त्यस क्षेत्रमा पूर्ण नियन्त्रण कायम गर्न ठूलो अभियानको तयारी भइरहेको सेनाले बताएको बीबीसीले जनाएको छ ।

इजरायली सेनाका प्रवक्ता एवी देवरिनले एक पत्रकार सम्मेलनमा भने, ‘आज गाजा सहरको ४० प्रतिशत भूभाग हाम्रो नियन्त्रणमा छ र अब हामी हमासको पूर्वाधार नष्ट गर्न एउटा ठूलो र शक्तिशाली अभियान सुरु गर्न गइरहेका छौं ।’ उनले थपे, ‘हामी आगामी दिनहरूमा गाजा सहर र त्यसको आसपास जारी अभियानलाई अझ तीव्र पार्ने तयारीमा छौं ।’

इजरायली सेनाका प्रवक्ताले अगाडि भने, ‘हामी हरेक ठाउँबाट हमासलाई लखेट्नेछौँ र यो अभियान त्यतिबेलासम्म समाप्त हुँदैन जबसम्म बाँकी इजरायली बन्धकहरू फिर्ता आउने छैनन् ।’

हालैका दिनहरूमा इजरायलले गाजा सहरको आसपास आफ्ना आक्रमणहरू तीव्र पारेको छ । यसअघि, हमासले सबै बन्धकहरूलाई रिहा गर्ने प्रस्ताव राखेको थियो, तर इजरायलले त्यसलाई अस्वीकार गरिदिएको थियो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले भन्यो, ‘यो हमासद्वारा फैलाइएको झुटो कहानी हो, जसमा कुनै पनि नयाँ कुरा छैन ।’