सत्ता साझेदार दलहरुले सरकारको न्यूनतम साझा कार्यक्रम भोलिसम्ममा ल्याउने भएका छन् । सरकारमा नरहेका एकीकृत समाजवादीलगायतका अन्य दलहरुले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम हेरेर गुण र दोषको आधारमा मात्रै सरकारलाई समर्थन गर्ने वा प्रतिपक्षमा बस्ने निर्णय गरेकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउनलाई जतिसक्दो चाँडो सरकारको न्यूनतम कार्यक्रम ल्याउने तयारी भएको हो ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा बनेको समितिले गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रमलाई बिहीबार बेलुकासम्म अन्तिम रुप दिन लागेको हो।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि गृहमन्त्री रवि लामिछानेले शुक्रबारसम्म अन्तिम रुप दिएर साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी भएको बताए।
‘कार्यदलका साथीहरु बसिरहनु भएको छ। भोलिसम्म अन्तिम रुप दिन्छौं,’ उनले भने, ‘सबैजना साथीहरु बस्दै हुनुहुन्छ। सकेसम्म सकेर भोलिसम्म सार्वजनिक हुन्छ, नभए पर्सि सार्वजनिक गर्छौँ।’
लामिछानेले न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएपछि सरकार विस्तार पनि हुन सक्ने उल्लेख गरेका छन्।
‘भोलि या पर्सि सार्वजनिक गर्छौँ। हाम्रो पार्टीले सबैभन्दा बढी भ्रष्टाचार नियन्त्रणका लागि विशेष कदम चाल्नुपर्छ भनेको छ,’ उनले भने, ‘सरकारी सेवा लिनका लागि लाइन लाग्नुपर्ने बाध्यता छ। किसानलाई मलका लागि अल्पकालीन र दीर्घकालीन योजना समावेश गरौँ भनेका छौँ। अरु नीतिगत कुरा पनि छन्।’
४ मंसिरको जनमतबाट कसैले पनि एक्लै बहुमत ल्याउन नसकेपछि गठबन्धन सरकार बनेकाले न्यूनतम साझा कार्यक्रम ल्याउन लागिएको उनले बताए।
‘हामी सरकारमा आउनुको कारणबारे जनतालाई पनि बताउन पनि यो कार्यक्रम ल्याउन लागेका हौं,’ उनले भने, ‘आमनागरिकले प्रत्यक्ष सरोकार राख्ने कुरा राखौँ भनेका छौँ। यी साझा कार्यक्रम लिएर गएमा हामीलाई सजिलो हुन्छ।