सूचना प्रवाहलाई सहज बनाउँदै मनाङ प्रशासन

Yangle News
Yangle News
२०७९ पुस ६ गते
सूचना प्रवाहलाई सहज बनाउँदै मनाङ प्रशासन

काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले यहाँका सार्वजनिक निकायमा सूचना अधिकारी तोकेर सूचना प्रवाहलाई सहज बनाउने उद्देश्य लिएको छ ।

जिल्लास्थित सामुदायिक एवं सार्वजनिक निकायका प्रत्येक कार्यालयमा सूचना अधिकारीसँग नियमित मासिक बैठक बसी सूचनामा एकरुपता ल्याइने प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

उनका अनुसार सबै सामुदायिक एवं सार्वजनिक निकायमा सूचना अधिकारी तोकी सहज सेवा प्रवाहको सुनिश्चितता गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा हेर्न र सुन्न सकिने (श्रव्य दृश्ययुक्त) नागरिक बडापत्र सञ्चालनमा ल्याइएको उनले बताए ।

प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ लाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न योगदान पुर्याएका जिल्ला सुरक्षा समितिका सदस्य तथा सुरक्षा निकायका प्रमुख, अधिकृत तथा जवानलाई प्रशंसापत्रबाट सम्मान गरिएको आचार्यले जानकारी दिए ।

“प्रत्येक पालिका तथा सामुदायिक कार्यालयमा डिजिटल बडापत्र राखी जिल्लावासीलाई सहज रुपमा हरेक कार्यको सूचना प्रवाह तथा जानकारी गराउने प्रयासमा छौँ”, उनले भने, “विकट जिल्ला भएकाले सूचनालाई प्रभावकारी बनाउनुपर्ने छ, सोही अनुरूप कार्य अगाडि बढाउँदैछौँ ।” रासस