भूकम्पले डोटीमा घर भत्किदा ६ जनाको मृत्यु, घाइतेलाई हेलिकप्टरबाट उद्धार

Yangle News
Yangle News
२०७९ कार्तिक २३ गते
भूकम्पले डोटीमा घर भत्किदा ६ जनाको मृत्यु, घाइतेलाई हेलिकप्टरबाट उद्धार

काठमाडौं । गएराती २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प जादा डोटी पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा घर भत्किएर  ६ जनाको मृत्यु भएको छ ।

डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं. ३ गैरागाउँमा घर भत्किएर ६ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ५० वर्षीय प्रेम बोहरा,४० वर्षीय भागवती बोहरा, १३ वर्षीय सीता बोहरा, ८ वर्षीय हर्क बोहरा,१४ वर्षीय धनसरी बोहरा र १४ वर्षीय कीतुलछी बोहोरा रहेका छन् । गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले एकै घरका तीनसहित छ जनाको मृत्यु भएको जानकारी गराएका छन् ।

अन्य पाँच जना घाइते भएका छन् । घाइते भएका पाँच जनाको उपचार डोटी अस्पतालमा भइरहेको छ।

घाइतेलाई नेपाली सेनासहितका सुरक्षाकर्मीको टोलीले उद्धार गरी उपचारका लागि केहीबेर अघि हेलिकप्टरबाट डोटी अस्पताल पुर्‍याइएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले बताए। सुर्खेत र कैलालीको धनगढीबाट गएको हेलिकप्टरले उनीहरुको उद्धार गरेको हो । उद्धारसँगै तत्काल आवश्यक खाद्यान्न र टेण्टसमेत लिएर भैरवनाथ गणको टोली सो क्षेत्रमा खटिएको सेनाले जनाएको छ।

गए राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो।

उक्त ठाउँमा आठ वटा घर पूर्णरुपमा भत्किएर क्षति पुगेको छ।