काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपद्का बेला उद्धार कार्यमा राज्य र वर्तमान सरकार अझ बढी जिम्मेवार तथा गम्भीर बन्नुपर्ने बताउनुभएको छ।
चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको निजामती सम्मान कार्यक्रममा बोल्दै प्रचण्डले बाढी आएको लामो समयपछि नागरिकको सकुशल उद्धार हुनु सन्तोषजनक भए पनि समयमै उद्धार कार्यलाई थप घनीभूत बनाउन सके अझै धेरै मानिसको ज्यान जोगाउन सकिने अवस्था रहेको बताउनुभयो।
उहाँले आगामी दिनमा विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन राज्य र सरकार गम्भीर भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
प्रचण्डले त्रास, भय वा दबाब सिर्जना गरेर काम गराउने प्रवृत्तिले कर्मचारीको मनोबल उच्च रहन नसक्ने बताउँदै असल नेतृत्व, समर्पण, नीति तथा योजनाको प्रभावकारी कार्यान्वयनमार्फत कर्मचारीलाई उत्प्रेरित र कर्तव्यनिष्ठ बनाउनुपर्ने धारणा राख्नुभयो।
विपद्को घडीमा त्रास देखाएर नभई कर्मचारीलाई प्रेरित र जिम्मेवार बनाएर निष्ठापूर्वक काममा खटाउनुपर्ने उहाँको भनाइ छ।
प्रचण्डले अहिले देशको राजनीति, कर्मचारी संयन्त्र तथा राज्यका सम्पूर्ण निकायमा एक प्रकारको अन्योल, अनिश्चय र अस्थिरताको अवस्था देखिएको उल्लेख गर्नुभयो।
सरकारलाई सुरुदेखि नै ‘राम्रो काम गरे समर्थन र सहयोग, नराम्रो गरे विरोध र आलोचना’ गर्ने नीति लिइएको भए पनि पछिल्लो समय सरकारका लक्षणहरू सकारात्मक नदेखिएको उहाँले टिप्पणी गर्नुभयो।
लामो संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्र, राष्ट्रिय स्वाधीनता तथा भौगोलिक अखण्डताको रक्षाका लागि राजनीतिक नेतृत्व, कर्मचारी, नागरिक समाज र आम जनता सबै सचेत हुनुपर्ने आवश्यकता रहेको प्रचण्डले बताउनुभयो।